site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशमा रहेको मनसुन सुदूरपश्चिम पुग्न कति दिन लाग्छ ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको मनसुन बिहीबार (जेठ १५) राति नेपाल प्रवेश गरेको छ । कोसी प्रदेशबाट मनसुन नेपाल प्रवेश गरेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन विस्तार भइसकेको छ । अन्य प्रदेशमा भने मनसुन विस्तार हुन बाँकी छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ । यसका लागि केही समय लाग्ने गरेको छ । 

“हाल मनसुन कोसी प्रदेशमा छ । त्यहाँबाट पश्चिमतर्फ सर्नेक्रममा रहेको छ,” मौसमविद् डेबिड ढकालले भने, “नेपालभर फैलिन अझै केही दिन लाग्छ ।” 

कति दिनमा मनसुन सुदूरपश्चिम पुग्छ अथवा देशभर फैलिन्छ भनेर यकिन गर्न नसकिने उनी बताउँछन् । गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो । 

“गत वर्ष १३ दिनमा मनसुन सुदूरपश्चिम पुगेर देशभर फैलिएको थियो,” उनले भने, “कति दिनमा मनसुन देशभर फैलिन्छ भनेर यकिन गर्न सकिँदैन ।” सामान्यतया सातदेखि १२/१५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् । 

गतवर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो । 

मनसुन प्रवेश गरेपछि पश्चिमबाट वायु पूर्वतर्फ चल्यो भने मनसुन देशभर फैलिन लामो समय लाग्ने तर हावाको बेग पूर्वबाट पश्चिमतर्फ चल्यो भने चाँडै मनसुन देशभर फैलिने गरेको मौसमविद्हरूले बताउँदै आएका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्