site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वी एसियातिर तानियो मनसुनी वायु
काठमाडौं वरिपरिको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाल भित्रिइसकेको मनसुनको प्रभाव यति बेला यहाँ कमजोर छ । केसी प्रदेशमै मनसुन स्थिर छ । मनसुनी वायु मजबुत नहुँदा वर्षाको सम्भावना पनि कम छ ।

मनसुनी वायु अर्थात् जलवाष्पयुक्त हावा बंगालको खाडीबाट पूर्वतिर लाग्दा दक्षिणमा यसको प्रभाव कमजोर छ । हाल पूर्वी एसियामा न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु त्यसतर्फ लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“हाई (उच्चचापीय क्षेत्र)बाट लो (न्यूनचापीय क्षेत्र)तिर (हावा) तानिने हो,” महाशाखाका मौसमविद् गोविन्द झाले बाह्रखरीसित भने, “पूर्वी एसियामा न्यूनचापीय क्षेत्र बनेको छ, जलवाष्पयुक्त हावा उता तानिरहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालसहित यतातर्फ धेरै वर्षाको सम्भावना हुन बंगालको खाडी आसपास न्यूनचापीय क्षेत्र बन्नुपर्छ । त्यसपछि यो भूभागतर्फ मनसुन मजबुत हुन्छ । “अहिले बंगालको खाडीबाट पूर्वतिर तानिरहेको छ,” उनले भने ।

बंगालको खाडी आसपास न्यूनचापीय क्षेत्र बने त्यसको प्रभाव भारत, नेपालतर्फ फैलन्छ । हाल अर्कोतर्फ न्यूनचापीय क्षेत्र बनेकाले मनसुन कोसीबाट अगाडि बढ्न नसकेको उनले स्पष्ट पारे ।

यो वर्ष सरदर मिति (जुन १३)भन्दा १५ दिन छिटो जेठ १५ गते राति मनसुन नेपाल प्रवेश गरेको थियो । जेठ १६ गते कोसी प्रदेशमा भारी वर्षा भएको थियो । बाढीपहिरो निम्तिएको थियो ।

मनसुन कोसीबाट कहिले अघि बढ्ला ? भन्ने जिज्ञासामा उनले भने, “हामीले तीन दिनको मात्र जानकारी गराउने गरेका छौँ । यो तीन दिनमा त्यसको खासै सम्भावना देखिँदैन ।”

वर्षाको सम्भावना कम
अबका तीन दिन अर्थात् आउँदो सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना कम छ । यही तीन दिनको अवधिमा वर्षाको सम्भावना नकार्नै भने नसकिने मौसमविद् झाले बताए ।

“अलिअलि त भइहाल्छ,” उनले भने, “कोसी प्रदेशका थोरै क्षेत्र र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ नै ।”

त्यसपछि मंगलबार/बुधबार वर्षाको सम्भावना देखिएको छ । “१०/११ तारिख (मंगलबार/बुधबार)तिर वर्षाको सम्भावना छ,” उनले भने, “योबीचमा तीन दिन खासै छैन । त्यसपछिको बारेमा आउने दिनहरूमा क्लियर (स्पष्ट) हुन्छ ।”

मनसुन मजबुत नभए पनि तीन दिन देशभर सुक्खा नै हुने स्थिति नरहेको उनले बताए । मनसुन कमजोर हुँदा पनि पछिल्लो २४ घण्टामा कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको उनले जानकारी दिए ।

कोसीबाहेकका भूभागमा यति बेला पश्चिमी वायु छ । देशमा स्थानीय वायुको प्रभाव पनि छ । पश्चिमी र स्थानीय वायुको प्रभावले पछिल्ला दिन पश्चिम र मध्य भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ ।

अर्कोतर्फ स्पष्ट छ नै, कोसी भूभागमा मनसुनका कारण वर्षा भएको हो ।

तर, अस्तितिरको जस्तो पश्चिमी वायु यति बेला धेरै प्रभावकारी नरहेको उनले बताए । त्यो बलियो हुँदा कमजोर मनसुनी वायुलाई कोसीबाट अघि बढ्न दिएको थिएन । “पश्चिमी वायु पनि सक्रिय हुन सकेको छैन,” उनले भने ।

पश्चिमी वायु कमजोर र मनसुन बिस्तारै प्रभावकारी भएपछि देशभर फैलन्छ । मनसुन देशभर फैलन गत वर्ष १४ दिन लागेको थियो । गत वर्ष सरदर मितिभन्दा तीन दिनअघि अर्थात् जेठ २८ गते (जुन १०) मनसुन नेपाल प्रवेश गरेको थियो । र, मनसुन असार ५ सम्म कोसी प्रदेशकै केही भूभागमा सीमित थियो । गत वर्ष असार ६ गते मनसुन लुम्बिनी प्रदेशसम्म पुगेको थियो । असार १० गते मात्र मनसुन देशभर फैलिएको थियो ।

नेपालमा करिब चार महिना (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर) मनसुन रहन्छ । यो अवधिमा वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशत वर्षा हुने गरेको महाशाखाले जनाएको छ ।

यो वर्ष मनसुनमा यहाँ सरदरभन्दा बढी वर्षा हुने आकलन छ । हरेक वर्ष कोसी अर्थात् पूर्वबाट प्रवेश गर्ने मनसुन करिब १२४/१२५ दिनपछि सोही दिशाबाट बाहिरिन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्