
काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडमा आबद्ध भएपछि रक्षक तथा मिडफिल्डर एलेसान्डर अर्नोल्डले रियालबाट खेल्ने सपना पूरा भएको बताएका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अर्नोल्डलाई बिहीबार स्पेनिस क्लब रियालले सार्वजनिक गरेको थियो । अर्नोल्ड र लिभरपुलबीचको सम्झौता अवधि जुन ३० सम्मको थियो । तर, क्लब विश्वकपका निम्ति रियालले लिभरपुललाई १० मिलियन तिरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार रियालले आधिकारिकरूपमा सार्वजनिक गर्दा अर्नोल्ड स्पेनिस भाषामै मन्तव्य दिएका थिए । “अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रियाल मड्रिड दुवैलाई अवसर दिनुभएको धन्यवाद भन्न चाहन्छु । रियालमा अनुबन्धित हुने अवसर सधैँ आउँदैन । यस क्लबमा अनुबन्धित हुनु मेरो सपना थियो । जुन अहिले साकार भयो,” उनले भनेका छन्, “यहाँ अनुबन्धित हुन पाउँदा धेरै हर्षित छु । म यहाँका समर्थकलाई मेरो प्रतिभा देखाउन उत्सुक छु । रियालमा खेल्दा मेरो काँधमा ठूलो जिम्मेवारी आउँछ भन्ने कुराप्रति पनि जानकार छु ।”
उनले रियालमा १२ नम्बरको जर्सी लगाएर आसन्न क्लब विश्वकपमा ‘डेब्यू’ गर्नेछन् । उनको जर्सीमा ‘ट्रेन्ट’ नाम लेखिनेछ । उनले स्पेनी समर्थकलाई सहज हुने गरी उक्त नाम छनोट गरेका हुन् । उनलाई गत महिना नै दोस्रोपटक प्रिमियर लिगको उपाधि जितेपछि लिभरपुलबाट भावुक बिदाइ लिएका थिए ।
क्लब विश्वकपमा रियाल समूह ‘एच’मा छ । उसले समूह चरणमा साउदी प्रो लिग अल हिलालसँग पहिलो खेल खेल्दै क्रमशः मेक्सिकन टिम पुचुवा र अस्ट्रियन टिम रेडबुल साल्जवर्गसँग खेल्नेछ ।