
काठमाडौं । प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध थियो । प्रतिपक्षमा रहेका नेकपा माओवादी, रास्वपालगायतका राजनीतिक दलले विरोध गर्दै आइरहेका थिए ।
तर शुक्रबार कांग्रेस, एमाले र माओवादीबीच सहमति भएपछि रास्वपा एक्लो भएको थियो । शुक्रबारको बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले केहीबेर विरोधमा रहेका सांसदलाई बस्न अनुरोध गरे पनि उनीहरुले अवरोध कायमै राखेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।
“जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसा भ्रष्टाचार,मानव तस्करीका विषयमा आवाज उठायौँ,” पाण्डेले भने, “जनताले भोग्नुपरेका समस्या समाधान होउन् भनेर नेकपा माओवादी, नेकपा एसलगायतका दल सहमतिमा अघि बढ्ने भनेका हौँ ।”
उनले आफूहरुले राखेका विषय विश्वस्त हुनेगरी व्यवहारमा लागु गर्ने विश्वार पनि व्यक्त गरे । तर उनी बोलिरहँदा रास्वपा सांसदहरुले दुई हातले टेबल बजाएर अवरोध गरिरहेका थिए । तर राप्रपाका नेता राजेन्द्र लिङ्देन बोल्न थालेपछि रास्वपा सांसद रोकिएका थिए ।