
काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रबार यो चलचित्रले प्रदर्शनको एक सय दिन मनाएको हो ।
काठमाडौंको क्यूएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको निर्माणपक्षले जनाएको छ ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्र गत वर्षको फागुन २९ गते रिलिज भएको थियो । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।
यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँ प्रमुख भूमिकामा छिन् ।
उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ ।