site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेयर बस्नेतलाई घुस दिने कंडेलको जग्गा लिलाम गर्दै सञ्चय कोष, पाँचतारे होटल बनाउन लिएका थिए ऋण

काठमाडौं । राजधानीको नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतलाई घुस दिने व्यवसायी राजुप्रसाद कंडेलले कर्मचारी सञ्चय कोषबाट लिएको ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको छ । 

सञ्चय कोषले कंडेललाई ऋण तिर्न ३५ दिन समय दिएको छ । 

कंडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट अल्पकालिन ऋण लिएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चय कोषले सूचना प्रकाशित गरी ऋणीले आफ्नो कारोबार सञ्चालन गर्न लिएको ऋणको भाखा नाघेको, सोको साँबा ब्याज नबुझाएको कोषले जनाएको छ । 

पटक पटक ताकेता र भुक्तानीका लागि म्याद दिँदासमेत चुक्ता नगरेको कोषको भनाइ छ । 

३५ दिनभित्र कोषमा सम्पर्क गरी कोषलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण ऋण रकम, त्यसमा लाग्ने व्याज र हर्जाना ब्याज तथा लाग्ने अन्य रकम समेत चुक्ता गर्न कोषले भनेको छ । 

ऋण नतिरे धितोमा रहेको चल, अचल सम्पत्ति बेचेर असूल गर्ने सञ्चय कोषले चेतावनी दिएको छ । 

कंडेलले पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. २ ठुलो भर्याङ (साविक इचंगुनारायण गाविस) वडा न ६ मा रहेको कित्ता नम्बर १९८, १६२,३८५ ३८१ ३८२, ३८४, १४७, ३८७, ४१५, १६९ र ८९  जग्गा धितोमा राखेर ऋण लिएका थिए ।

यही जग्गामा कंडेलले पद्म हस्पिटालिटीमार्फत दुई अर्ब ३० करोड रुपैयाँमा दुई सय कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेका थिए । 

होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो । जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो । 

होटल आउँदो सन् २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरिएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनीका सञ्चालक कँडेलबाट मेयर बस्नेतले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको ठहर गरेको छ । कँडेलले कम्पनीको नाममा जग्गा प्राप्त गर्ने मेयर बस्नेतलाई घुस दिएको अदालतको ठहर छ ।

मेयर बस्नेत र व्यवसायी कँडेलको सजाय निर्धारणका लागि १६ असारको मिति तोकिएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा मेयर बस्नेत र उनका श्रीमति उर्मिला बस्नेत र घुस दिने कँडेलविरुद्ध भ्रष्टाचारका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । 

अख्तियारले तीनै जनाविरुद्ध जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो । यसैगरी सम्पत्ति शुद्धीकरणको मुद्दामा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो । 
भ्रष्टाचार मुद्दामा मेयर बस्नेत र कँडेललाई दोषी ठहर भएका छन् भने सम्पत्ति शुद्धीकरणमा मेयर बस्नेतलाई मात्र दोषी ठहर गरिएको छ ।

अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।  तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दाबी गरेको थियो । 

कंडेलको पद्म कोलोनीले काठमाडौं रामकोट र सुनसरी इटहरीमा दुई ठूला हाउजिङ योजना ल्याउने योजना अघि सारेको थियो । 

दुई परियोजनामा पाँचअर्ब ६८ करोड रुपैयाँ लगानी हुने बताइएको थियो । रामकोटको फेज पाँचमा तीन अर्ब ५० करोड र इटहरीको फेज ६ मा दुई अर्ब १८ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको थियो । कंडेल पद्म ग्रुप अफ कम्पनीजको अध्यक्ष हुन् । कँडेल पद्म हस्पिटालिटी, पद्म मर्चेन्ट कम्पनी, धुनीवेसी आदर्श मल्टिपल कलेजलगायत थुप्रै संस्थाका सञ्चालक हुन् ।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्