
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार ९) पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बारा, पर्सा, पाल्पा, गुल्मी अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख र सुर्खेतमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, कालीकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला र कैलाली भई बहने केही सानामा नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘सामान्य’ जोखिमको पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने अनुमान छ । कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।