
काठमाडौं । डिजिटल रेमिट्यान्स सेवाप्रदायक इसेवा मनी ट्रान्सफर र मलेसियाको टच एन गो इवालेटबीच सामाजिक सुरक्षा कोष (एसएसएफ)मा डिजिटल माध्यमबाट सहज रूपमा योगदान गर्न सकिने सहकार्यबारे सम्झौता भएको छ । सम्झौतापत्रमा टच एन गो डिजिटल रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, मलेसियामा रहेका नेपालीले अब टच एन गो इवालेट प्रयोग गरी सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्नेछन् । “मलेसियामा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सामाजिक सुरक्षामा पहुँच दिलाउन पाउँदा हामी अत्यन्त खुसी छौँ । अब टच एन गो एपमार्फत सजिलो, पारदर्शी र प्रभावकारी ढंगले सामाजिक सुरक्षा कोषमा रकम पठाउन सकिनेछ, जसले दीर्घकालीन वित्तीय सुरक्षामा ठूलो सहयोग पुर्याउने विश्वास लिएका छौँ,” इसेवाका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने ।
सर्भेस्वरेन राजा गोपालले भने, “नेपालकै सबैभन्दा ठूलो वित्तीय प्रविधि समूह एफवान सफ्टअन्तर्गतको पहिलो डिजिटल रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । भविष्यमा प्रविधिमा आधारित अन्य क्षेत्रमा पनि सहकार्य गर्न उत्साहित छौँ ।”
सम्झौतापश्चात् दुवै पक्षले प्रवासी नेपाली समुदायका निम्ति वित्तीय पहुँच र समावेशिता विस्तारको नयाँ ढोका खुलेको विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सुरक्षाको पहुँचलाई प्रविधिमार्फत विस्तार गर्ने दिशामा यो सहकार्यलाई प्रवासी नेपालीका निम्ति एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।