
काठमाडौं । कतारका निम्ति नेपाली राजदूत रमेशचन्द्र पौडेलले त्यहाँको अवस्था सामान्य रहेको बताएका छन् । कतारमा रहेका नेपालीलाई नआत्तिन उनले आग्रह गरेका छन् ।
गए राति (जुन २३) इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको थियो । त्यसपछि केही समय तनावपूर्ण रहे पनि हाल अवस्था सामान्य बनेको उनले बताए ।
“इरानले यहाँ रहेको अमेरिकी बेसमा आक्रमण गरेपछि केही नेपालीहरूले दूतावासमा फोन गरेर आत्तिँदै सोधीखोजी गर्नुभएको थियो,” राजदूत पौडेलले बाह्रखरीसँग भने, “अहिले यहाँको अवस्था सामान्य छ । आत्तिनुपर्ने अवस्था छैन ।”
इरानले कतारस्थित अल उडेइद एयर बेसमा छोटो र मध्यम दूरीका मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणबाट कुनै ठूलो क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कतारको राजधानी दोहानजिकै रहेको अल उदेद एयर बेस मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमान्डको हवाई अपरेसनको मुख्यालय हो । त्यहाँ लगभग आठ हजार अमेरिकी सैनिक छन् ।
हाल यो एयर बेसले इराकमा अमेरिकी अपरेसनका निम्ति मुख्यालयका रूपमा काम गर्छ । त्यो उक्त क्षेत्रमा अमेरिकी रसदको केन्द्र पनि हो ।
यो एयर बेसमा खाडी क्षेत्रमा सबैभन्दा लामो ‘एयर ल्यान्डिङ स्ट्रिप’ पनि छ । कतारले सन् २००० मा अमेरिकालाई यो एयर बेसमा पहुँच दिएको थियो ।
“इरानमा आक्रमण गर्न कतारले अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न नदिएको कारण इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण नगर्ला भन्ने थियो, तर भयो,” राजदूत पौडेलले भने ।
इरानले उक्त एयर बेसमा आक्रमण गरेको केही समयमै नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा सूचना पोस्ट गरी त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन भनेको थियो ।
“वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ,” सूचनामा उल्लेख थियो ।
इरानको आक्रमणपछि कतार सरकारले ‘सामान्य अवस्था भएको र ठूलो समस्या नरहेको’ जनाउ दिएको उनले बताए ।
इरानले सांकेतिक रूपमा अमेरिकी बेसमा आक्रमण गरेको धेरैको बुझाइ छ । राजदूत पौडेलका अनुसार, कतारमा वैध रूपमा साढे तीन लाख नेपाली कार्यरत छन् ।