
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिबारे जानकारी गराएपछि दुई दलका सांसदले असहमति जनाएका हुन् ।
गृहमन्त्रीले जानकारी दिएपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा. स्वर्णिम वाग्लेलाई बोल्न समय दिएका थिए । सांसद वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानबिन समिति बनाएको आरोप लगाए ।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानबिन समिति बनाउनु उचित नभएको जिकिर गरे । यस प्रकरणमा संसदीय छानबिन समिति वा जाँचबुझ आयोग ऐन अनुसार छानबिन समिति बन्नुपर्ने उनले बताए ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले बनाएको छानबिन समितिले निष्पक्ष काम गर्न नसक्ने र विधिको शासन स्थापित गर्न नसक्ने बताए ।
भिजिट भिसा प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई उन्मुक्ति दिन सरकारले नयाँ कदम चालेको भन्दै उनले यसविरुद्ध सदन र सडकबाट निरन्तर विरोध गर्ने बताए । सरकारले बनाएको छानबिन समितिले पीडितलाई न्याय दिन नसक्ने उहाको भनाइ छ ।
आफ्ना धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरूले सदन बहिष्कार गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।