
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–८ का सन्दीप चौधरी ६ महिनाअघि भारतको उत्तराखण्ड राज्यको काशीपुर पुगेका थिए । उनी चिने/जानेकै व्यक्तिले आकर्षक रोजगारीको प्रलोभन देखाएपछि त्यहाँ पुगेका थिए ।
उनले काशीपुर पुगेपछि थाहा पाए भनेजस्तो रहेनछ । एउटा गिरोहको दबाबमा चिने/जानेको व्यक्तिले उनलाई त्यहाँ बोलाएका रहेछन् । ती चिने/जानेका व्यक्तिलाई कुटपिट मात्र होइन ज्यान लिने धम्की दिई बोलाउन बाध्य पारिएको रहेछ ।
सन्दीप काशीपुर पुग्नेबित्तिकै उनलाई पनि त्यही गिरोहले बन्धक बनायो । बैंक खाता खोल्न र आधार कार्ड बनाउन पैसा लाग्ने भन्दै उनलाई घरबाट मगाउन लगाइयो । उनले बाध्य भएर २३ हजार भारतीय रुपैयाँ (३६ हजार ८०० नेपाली रुपैयाँ) बुझाए ।
त्यति गरेपछि पनि उनलाई छाडिएन । बरु कुटपिट र यातना दिएर नेपालमा रहेका अर्को व्यक्तिलाई त्यहाँ बोलाउन भनियो । अनि बाध्य भएर उनले आफ्नै वडाका आशिष चौधरीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर बोलाए । जसरी सन्दीप काशीपुर पुगेका थिए, ठीक त्यसरी नै आशिष एक महिनापछि काशीपुर पुगे ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा यही असार ५ गते उत्तराखण्डको काशीपुरमा स्थानीय सामाजिक संस्था र प्रहरीको सहयोगमा एक गिरोहले बन्धक बनाएका ३५ नेपालीको उद्धार गरिएको थियो । यिनै ३५ जनामध्ये थिए, सन्दीप र आशिष । दुवैजना बनबासा बोर्डरबाट भारत प्रवेश गरेका थिए । आशिषले पनि गिरोहलाई २३ हजार भारतीय रुपैयाँ बुझाइसकेका थिए ।
“अपराधको शैली ‘नेटवर्क मार्केटिङ’ जस्तो देखिएको छ । एउटालाई बोलायो, बैंक खाता खोल्न र आधार कार्ड बनाउन भन्दै पैसा मगाउन लगाउने । त्यसपछि दबाब दिएर साथीभाइ बोलाउन लगाउने,” नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले बाह्रखरीसँग भने ।
काशीपुरबाट बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरेको तीन दिनपछि असार ८ गते रुद्रपुरबाट यसरी नै बन्धक बनाइएका २२ नेपालीको उद्धार गरिएको थियो ।
उपनियोग प्रमुख थापाका अनुसार, सुरुमा रुद्रपुरमा डेढ–दुई सय नेपाली युवालाई बन्धक बनाएको भन्ने सूचना आएको थियो । काशीपुरमा प्रहरीले छापा मारी नेपालीलाई छुटाएको खबर फैलिएपछि रुद्रपुरमा बन्धक रहेका नेपालीलाई अन्यत्र सारेको अनुमान गरिएको छ । जसका कारण २२ जना मात्र बन्धक नेपालीलाई छुटाउन स्थानीय प्रहरी सफल भएको थियो ।
बन्धकमा परेका एकजना नेपाली युवा भागेर नेपाली दूतावास आउन सफल भएपछि यी सबै कुराको खुलासा भएको थियो ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको नाममा अनेक प्रलोभन देखाई विदेश पुर्याउने र त्यहाँ बन्धक बनाई रकम असुल गरी दबाब दिएर आफ्ना साथीभाइ बोलाउन लगाउने ठगीको ‘नयाँ ट्रेन्ड’ देखिएको छ ।
विगत दुई वर्षदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा नेपालीलाई लगेर यस्तै गरिन्थ्यो । सुरुमा एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी नेपालीलाई आकर्षक रोजगारीको प्रलोभनमा पार्ने गरेका छन् ।
यस्तो प्रलोभनमा पर्नेहरू त्यो स्थानमा पुगेपछि बन्धक बनाउने गरिन्छ । उनीहरूलाई जबरजस्ती ठगी धन्दामा लगाउने पनि गरिएको छ । त्यसपछि उनीहरूलाई ज्यान मार्ने धम्की दिइ आफ्ना साथीभाइ बोलाउन लगाउने गरिएको पाइएको छ ।
यसरी नै दक्षिणपूर्वी राष्ट्रहरू म्यानमार, कम्बोडिया, थाइल्यान्ड, लाओसमा बन्धक बनाइ जबरजस्ती काममा लगाइएका दुई सयभन्दा बढी नेपालीलाई पछिल्लो डेढ वर्षमा थाइल्यान्डस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएका छन् ।
२०८२ साल सुरु भएयता मात्र वैशाख २४ गते १२ जना र जेठ २१ गते तीनजनालाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको थियो । “पछिल्लो समय यसरी आउने नेपालीको संख्या झन् बढेको छ,” थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बाह्रखरीसँग भने ।
एजेन्टहरूले धेरैजसोलाई बैंकक ल्याई म्यानमारको मेवाडी क्षेत्र पुर्याउने गरेका छन् । त्यहाँ उनीहरूलाई बन्धक बनाई जबरजस्ती काममा लगाउने गरिन्छ ।
अनलाइन स्क्यामिङ चलाइएका ठाउँहरू थाइल्यान्डको सीमानजिक म्यानमारको मेवाडी क्षेत्रमा छन् । ती ठाउँ विद्रोही समूहको नियन्त्रणमा छन् । ती ठाउँमा म्यानमारी सेनाको नियन्त्रण छैन ।
चारवटा विद्रोही समूहले नियन्त्रण गरेका क्षेत्रमा कम्पनीहरूले अवैध रूपमा अनलाइन स्क्यामिङ चलाइरहेका छन् । विभिन्न देशका युवालाई प्रलोभन देखाउँदै एजेन्टहरूले ती स्थानसम्म पुर्याउने गरेका छन् ।
यस्तै, ट्रेन्ड नेपालमा पनि देखिएको छ । २०८२ जेठ १४ गते नेपाल प्रहरीले बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा पाँजना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
ती बंगलादेशी नागरिकलाई ललितपुरस्थित एक घरमा बन्धक बनाइ राखिएको थियो । उनीहरूलाई शारीरिक र मानसिक यातना दिई बंगलादेशमा रहेका परिवारसँग पैसा (फिरौती) माग्न लगाइएको थियो ।
२०८० साउनमा पनि यस्तै भएको थियो । बंगलादेशी नागरिकलाई मलेसिया, पोल्यान्ड र क्रोएसिया लगायतका देशमा पठाउने भनी नेपाल ल्याएर बन्धक बनाएको आरोपमा दुई नेपाली र पाँच बंगलादेशी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीहरूलाई पनि बन्धक बनाएर बंगलादेशमा रहेका आफ्ना परिवारसँग पैसा माग्न लगाइएको थियो ।
पछिल्लो समय भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाई रकम असुल्ने गरेको पाइएको हो । यसरी बन्धक बनाइएका ५७ नेपालीलाई पछिल्ला एक सातामा उद्धार गरिएको छ ।
पीडितहरूसँग गिरोहले १२ हजारदेखि ५० हजार भारतीय रुपैयाँसम्म (१९ हजार २०० देखि ८० हजार रुपैयाँसम्म) उठाउने गरेको उनीहरूले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई बताएका छन् । उनीहरूलाई बनबासा र सुनौली नाका हुँदै भारतको उत्तरखण्ड पुर्याउने गरिएको छ ।