site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘फेलियर’ भयो कोसी पर्यटन वर्ष, विनियोजित बजेट ‘फ्रिज’
फाइल तस्बिर ।

विराटनगर । कोसी सरकारले चालु आर्थिक वर्षको लागि घोषणा गरेको कोसी पर्यटन वर्ष ‘फेलियर’ भएको छ । उद्घाटन गर्नेबाहेक अन्य कुनै काम गर्न नसकेपछि बजेटसमेत ‘फ्रिज’ हुन पुगेको छ । सरकारले पर्यटन वर्ष मनाउन भनेर १० करोड रुपैयाँ बजेट छुट्याएको थियो । आगामी आर्थिक वर्षको लागि पनि त्यति नै बजेट विनियोजन भएको छ ।

सुनसरीको कोसी गाउँपालिकामा सरोकारवालाको छलफल र तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा उद्घाटनबाहेक थप कार्यक्रम हुन नसकी यो आर्थिक वर्षमा गतिविधिविहीन हुन पुगेको हो । कोसी गाउँपालिकामा स्थानीय तहसँग समेत समन्वय नगरी पर्यटन वर्षको कार्यक्रम गरिएको थियो । यसमा स्थानीय तहले अपनत्व ग्रहण गर्न सकेका छैनन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस विषयमा प्रदेशसभामा सत्तासीन दल नेकपा (एमाले)का सदस्यले नै सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले कोसी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले मंगलबारको बैठकमा पर्यटन वर्षको असफलताबारे प्रश्न उठाए ।

“कोसी प्रदेश पर्यटन वर्ष मनाउने तयारी गरिएको छ । तर, तयारी गरिरहँदा स्थानीय तहसँग कति समन्वय हुन सक्यो ? अब यो पर्यटन वर्षका कार्यक्रम कसरी बढ्छ ? मूलतः प्रदेशका लागि गौरवको विषय हो । तर, बजेटमात्र खर्च गर्ने र मनाउने हो भने औचित्य हुँदैन,” उनले भने, “स्थानीय तहसँग समन्वय र सहकार्य गरेर त्यहाँका नीति तथा कार्यक्रम अनि बजेटमा कति समावेश गर्न सकियो ? माघ फागुनको हिउँदे सभामा रकमान्तर गरेर वैशाख, जेठ र असारमा पनि गरियोस् भनेर भनेको थिएँ । तर, कोसी गाउँपालिकामा कार्यक्रम गर्दा गाउँपालिका महासंघको अध्यक्षले समेत थाहा पाएनन् ।” 

बस्नेतले निजी र अन्य क्षेत्रसँग समन्वय गरेमात्र सफल हुने भन्दै प्रदेशले आफ्नो बजेटमात्र खर्च गर्ने गरी काम गर्न खोजे असफल हुने बताए । वन तथा पर्यटन मन्त्रालय र सिंगो सरकारले यसमा ध्यान दिनुपर्ने बस्नेतको जोड थियो । पर्यटन वर्षको शुभारम्भ भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतबाट आउने गाडीमा स्टिकर टाँस गरेका थिए । तर, कतिपय सीमानाकामा अहिले स्टिकर टाँस्न छाडिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेतीले पर्यटन क्षेत्रलाई नै ध्वस्त बनाइएको बताउँदै भने, “सरकारले सच्चिएर अघि बढ्नुपर्छ ।”

कोसी प्रदेश सरकारले तामझामसाथ २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको थियो । ‘रमणीय कोसी’ भन्ने नारा तयार गरिएको थियो । यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाइएको थियो । तर, कति पर्यटक आए भन्ने कोसी सरकारसँग तथ्यांक छैन । 

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार, पर्यटन पूर्वाधार र अन्य पर्यटनसम्बन्धी गतिविधि गर्ने भनेर विनियोजित शीर्षकका बजेट समेत खर्च हुन सकेन । २०८२ सालका लागि ८२ स्थान छनोट गरेर पर्यटन वर्ष घोषणा गरिएको थियो । नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘हाइलाइट’ गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्