
काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ड मोटर्स प्रालिले १०० भन्दा बढी स्पेयर पार्ट्सको मूल्य औसतमा ३० प्रतिशतले घटाउने घोषणा गरेको छ । कम्पनीले ‘सस्तो, सुलभ र भरपर्दो अफ्टर–सेल्स सेवा’ दिने लक्ष्यलाई दोहोर्याउँदै नयाँ योजना सार्वजनिक गरेको हो ।
स्पेयर पार्ट्सको मूल्यमा गरिएको कटौती ग्राहकको लागत घटाउनेतर्फ कम्पनीको महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । प्यारामाउन्ड मोटर्सले एमजीको आपूर्ति शृंखला र आन्तरिक लजिस्टिक्स प्रक्रियाको पुनरवलोकन गर्दै सञ्चालन खर्च घटाएर बचत ग्राहकलाई हस्तान्तरण गरिएको बताएको छ ।
“हामी ग्राहकहरूलाई गुणस्तरीय सेवा र आर्थिक सहजताको अनुभव दिन चाहन्छौँ । त्यसैले हामीले बजारमै प्रतिस्पर्धात्मक मूल्यमा पार्ट्स उपलब्ध गराउँदै छौँ,” एमजी मोटर्सले भनेको छ ।
एमजी मोटर्स नेपालले काठमाडौं उपत्यकामा तीनवटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने देशभरका डिलरमार्फत १२ भन्दा बढी सेवा केन्द्र पनि सक्रिय छन् । कम्पनीले आफ्नो सर्भिस नेटवर्कलाई झनै सुदृढ गर्दै सेवा पहुँचलाई मुलुकभर विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपालमा एमजी ब्रान्डले पछिल्ला वर्षहरूमा विश्वासिलो र प्रगतिशील गाडीको रूपमा ग्राहकबीच पहिचान बनाउँदै आएको जनाएको छ ।
एमजी मोटर्स नेपालको पछिल्लो निर्णयले उपभोक्तालाई अझै किफायती, भरपर्दो र दीर्घकालीन सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले नेपाली अटोमोबाइल बजारमा ग्राहक–केन्द्रित सेवा प्रवृत्तिलाई थप सशक्त बनाउने कम्पनीको विश्वास छ ।