site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
...जब नेपाली राजदूत इरानी मिसाइल विस्फोट भएको इजरायलको बेर्शेबा पुगे

काठमाडौं । इजरायल र इरानबीच मंगलबार बिहान युद्धविरामको गाइँगुइँ चलिरहेको थियो । त्यसैबेला इजरायलको दक्षिणी सहर बेर्शेबामा ठूलो विस्फोटको आवाज आयो । 

उक्त आवाज इरानले प्रहार गरेको मिसाइल विस्फोट भएपछिको थियो । त्यसलगत्तै इजरायलको राजधानी तेल अभिभमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितको मोबाइलमा निरन्तर घण्टी बज्न थाल्यो । ती फोन बेर्शेबामा रहेका नेपालीको थियो ।

“उहाँहरू आत्तिँदै फोन गर्नुभएको थियो । आवाज सुन्दा नै तर्सिएको लाग्थ्यो,” इजरायलका लागि नेपाली राजदूत पण्डितले स्थानीय समयअनुसार मंगलबार बिहानको घटना बाह्रखरीलाई सुनाउँदै भने, “त्यसपछि मलाई त्यहाँ जानैपर्छ भन्ने लाग्यो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही दिनअघि मात्र पनि इरानले प्रहार गरेको एक मिसाइल त्यही क्षेत्रमा रहेको एक अस्पतालमा खसेको थियो । थुप्रै घाइते भएका थिए । उक्त घटनाबाट त्रसित बेर्शेबामा रहेका नेपाली मंगलबार बिहान अर्को मिसाइल खसेपछि झन् डराएका थिए । 

मंगलबार बिहान इरानले प्रहार गरेको मिसाइल बेर्शेबामा विस्फोट हुँदा चार इजरायलीको मृत्यु भएको थियो । कयौँ घाइते भएका थिए । यो तथ्यांकले झन् त्यहाँ रहेका नेपालीको मनमा डर पसेको थियो ।

बेर्शेबा गाजानजिकको सहर हो । यो सहर तेल अभिभबाट १३० किलोमिटर पर छ । “नेपालीहरू डराएको आवाज सुनेपछि दूतावासमा बसिरहन सकिनँ । त्यसपछि म गाडी निकालेर बेर्शेबातर्फ लागेको थिए,” राजदूत पण्डितले भने ।

आफू बेर्शेबा आउँदै गरेको जानकारी त्यहाँ रहेका नेपालीलाई उनले आफू हिँड्नुअगावै दिएका थिए । उनी बेर्शेबा पुग्दा त्यहाँ ७० जना नेपाली जम्मा भएका थिए । उनीहरू सबैजना केयर होममा काम गर्नेहरू थिए । 

“म पुग्ने बित्तिकै मलाई अँगालो हालेर उहाँहरू रुन थाल्नुभयो,” त्यतिबेला आफू पनि निकै भावुक बनेको राजदूत पण्डितले सुनाए ।

बेर्शेबामा रहेका नेपालीको अवस्था बुझेपछि उनले सम्झाउँदै भनेका थिए, “तपाईंहरू चिन्ता नलिनु । डराउनु पर्दैन । केही परे हामी छौँ ।”

केही समय बेर्शेबामा रहेका नेपालीसँग बिताएपछि राजदूत पण्डित मंगलबार तेल अभिभ फर्केका थिए । “उहाँहरू एकदमै डराएको र त्रसित भएको पाएँ,” राजदूत पण्डितले भने ।

राजदूत पण्डितका अनुसार, मंगलबारभन्दा बुधबारको अवस्था निकै फेरिएको छ । इजरायल र इरान दुवैले मंगलबार युद्धविरामको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीको मनमा गढेको डर र त्रास कम हुँदै गएको छ । “आज (बुधबार) बजार खुलेका छन् । स्कुल र कलेज खोल्न निर्देशन दिइएको छ । हवाइजहाज पनि अलिअलि उडेका छन्,” राजदूत पण्डितले युद्धविरामपछिको अवस्थाबारे बताए, “सामान्य अवस्थाको तुलनामा ७० प्रतिशत गाडी सडकमा कुदेको देखिन्छ । लगभग सामान्य अवस्थामा फर्केको छ ।” 

गएको जेठ ३० गते इजरायलले अचानक इरानमा हवाइ आक्रमण गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो । १२ दिनको युद्धमा ५०० भन्दा बढी इरानी नागरिक र २८ इजरायली नागरिकको मृत्यु भएको छ । यो युद्धमा दुवै देशका सयौँ नागरिक घाइते भएका छन् । 

इजरायलमा साढे पाँच हजारभन्दा बढी र इरानमा १६ जना नेपाली रहेको सरकारी अनुमान छ । इरानमा रहेका १६ मध्ये पाँचजना जेलमा छन् । भारतको सहयोगमा इरान रहेकामध्ये दुईजनाको उद्धार गरिएको थियो । 

युद्ध चर्केपछि सरकारले इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सहज होस् भनी आफ्नो नाम अनलाइन रजिष्टर गर्न आह्वान गरेको थियो । आह्वानपछि मंगलबारसम्म इजरायलमा रहेका ९५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम रजिष्टर गरेका थिए । 
“युद्धविराम भएपछि अब अवस्था सामान्य हुन लागेकाले उद्धारका लागि नाम दर्ता गर्नेको संख्या अब नबढ्ला । उद्धारका लागि नाम दर्ता गर्नेहरू पनि अब नेपाल फर्कन चाहनुहुन्छ जस्तो मलाई लाग्दैन,” राजदूत पण्डितले भने ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्