
काठमाडौं । खोटाङको उत्तरी भेगमा एउटा खोला छ । नाम हो, डल्ले खोला । हिउँदमा फड्के लाग्ने यो खोलाले वर्षायाममा यस्तो रौद्ररूप लिन्छ, मान्छे नबगाएको साल हुँदैन । पाखापाखा पुग्ने खोलाले गाउँलेको नुनतेल रोकिदिन्छ । सदरमुकाम जान अवरोध गर्छ ।
गाउँलेको वर्षौंदेखिको एउटै चाहना छ, यो खोलामा पुल बनोस् । हरेक वर्ष खोलाले ज्यान लिनेक्रम बन्द होस् । हरेक वर्ष कसै न कसैको परिवारले आफ्नो सदस्य गुमाउनु नपरोस् ।
मलायाको भूपू लाउरे सदरमुकाम पुग्छन् । सरकारी अड्डामा खोलाले प्रत्येक वर्ष ज्यान लिइरहेको वास्तविकता सुनाउँछन् । डल्ले खोलामा पुल जसरी पनि बनाउनैपर्ने बताउँछन् ।
सरकारी कार्यालयका कर्मचारी न परे, किन सुन्थे सुक्खा कुरा ! बजेट छैन भनिदिन्छन् । तर, मलायाको लाउरेले लामो भाषण छाँटे । टुटेफुटेको अंग्रेजी घुसाए । विदेशी विकासको कुरा सुनाए । २० हजार मागेकामा सकारी कार्यालयका हाकिमले एक हजार रुपैयाँ निकासा गरिदिए । बाँकी किस्तामा ६ महिनापछि दिने बताए ।
भूपू लाउरेले सदरमुकामबाट हजार रुपैयाँ बजेट ल्याएको खबरले गाउँलेमा उत्साह छायो । श्रमदान गर्न स्थानीय तयार भए । सरकारी पैसा पुल बनाउन प्रयोग गरिएको भन्दै नेपाली कागजमा ल्याप्चे हानिदिए ।
श्रमदानले खोलामा पुल बनेजस्तो देखियो । तर, जसरी वर्षा दोहोरियो, त्यसैगरी डल्ले खोलामा पाखापाखा चढ्यो । पुल बग्यो ।
अनि, गुह्य कुरा पत्ता लाग्यो, भूपू लाउरेको छोरीको बिहे सात दिनसम्म कसरी चल्यो ? सुँगुर र रक्सीमा गाउँ कसरी डुब्यो ? उनले सरकारी अड्डाबाट पुल बनाउन भनेर ल्याएको हजार रुपैयाँले छोरीको बिहे गरेको रहस्य खुल्यो ।
डल्ले खोलाछेउमा गाउँ छ । खेतबारीका पाटाहरू सुक्खा । खोलामा पानी खेर गइरहेको छ । तर, गाउँले पानीको अभावमा खेतीबाली लगाउन पाउँदैनन् ।
जुवामा अधिकांश अचल सम्पत्ति समेत डुबाइसकेको शिववहादुरले एक दिन सपना देख्यो । डल्ले खोलाले उसलाई भन्यो, ‘तिमीले यस वर्ष धेरै जुवा हार्यौ, तर यसको चिन्ता तिमीले लिनु पर्दैन । दुईचार गरा खेत र सानो झुप्रो तिम्रो बाँकी नै छ । फेरि एकपटक तिमीले मलाई कुलाहरूमा लगेर बाँडिदेऊ । म त्यहाँ तिमीसँग उभिन्छु, तिमीसँग मिसिन्छु ।’
अनि शिवबहादुर पुग्छन्, सदरमुकाम भूपू लाउरे दाइको पदचाप पछ्याउँदै । अड्डमा हाकिम उही थिए । पारा उस्तै थियो, सुस्त । भाषण दिन थाले शिवबहादुर– हाकिम साहेब, डल्ले खोलामा पुलका लागि गएको रकम पूरै हिनामिना भयो । त्यहाँ पुलको नामोनिसान केही छैन । यसमा पूरा कारबाही हुनुपर्छ । अब डल्ले खोलामा एउटा बाँध बनाई कुलो निर्माण हुनु जरुरी छ । हाम्रा पाखाहरू कुलाबिना त्यसै परिरहेका छन्, त्यहाँ पानी पुर्याउनुपर्छ । त्यहाँ धान उब्जाउनुपर्छ । सधैँ खाद्यान्नको अभावलाई हामीले कति स्वीकारिरहने ? सारा गाउँका मान्छेहरूले श्रमदान गर्छन् हाकिम साहेब ! त्यो कुलो तीन महिनाभित्रमा नै पूरा हुनुपर्छ । मलाई खालि दश हजार भए पुग्छ ।
सरकारी अड्डा र तीनका हाकिमको नाडी छामेका शिवबहादुरलाई पैसा कसरी निकासा गराउने भन्ने भलिभाँती थाहा थियो । उसले थोरै संकेत के दिएको थियो, हाकिमको चाल फेरियो । १५ हजार निकासा भएको कागजी सम्झौतामा हस्ताक्षर गरेर १० हजार लिएर गाउँ फर्किए ।
गाउँलेका ओठमा फेरि मुस्कान देखियो । फेरि श्रमदान सुरु भयो । कुलो खनियो । तर, प्रोपर इन्जिनियरिङबिनाको कुलोमा कसरी आउँथ्यो पानी ? आएन । फेरि त्यहाँ हिनामिना भयो । शिवबहादुरले जुवा खेलेर पैसा सके ।
न पुल बन्यो न कुलो । तर, बजेट सकियो । गाउँलेका दुःख सकिएन । जोखिम सकिएन ।
डल्ले खोलालाई विम्बका रूपमा उभ्याएर लेखक परशु प्रधानले समाजमा कसरी भ्रष्टाचार हुन्छ भन्ने देखाएका छन् । गाउँसमाजमा हामीले विश्वास र भरोसा गरेका व्यक्तिहरूले नै कसरी भ्रष्टाचार गरिरहेका छन् भन्ने देखाउन लेखकले डल्ले खोलालाई विम्ब बनाएका छन् ।
भ्रष्टाचार सधैँ राजनीतिज्ञबाट मात्र होइन, समाजका टाठाबाठाले पनि गरिरहेका छन् भन्ने यसमा देखाइएको छ । आफ्नै गाउँठाउँमा भइरहेको भ्रष्टाचार टुलुटुलु हेरेर मौन बस्ने नागरिक पनि यसका हिस्सेदार हुन् भन्ने सन्देश लेखक प्रधानले दिन खोजेको कथालाई ‘डल्ले’ खोला नाटकमा रूपान्तरण गरिएको छ । भ्रष्टाचार गर्ने मात्र दोषी नभई त्यसविरुद्ध औँला नउठाएर मौन बस्ने पनि यसका अंशियार हुन् भन्ने नाटकले सन्देश दिएको छ ।
एक थिएटर नेपालले प्रस्तुत गरेको नाटकमा पूर्वी पहाडमा रहेको राई जातिको संस्कार र संस्कृति देखाइएको छ । राईको लबजमा रहेको नाटकले समग्र पूर्वी पहाडलाई बोकेको छ ।
खोटाङको जनजीवन देखाइएको नाटकले समग्र नेपाली ग्रामीण जीवनशैलीलाई प्रतिविम्बित गर्छ । भूपू लाउरेको संवादले बेलाबेलामा हँसाउँछ । ‘ग्रे जोन’मा रहेको उनको चरित्रले घरी हँसाउँछ, घरी आवेग सिर्जना गर्छ । उनले बीचबीचमा घुसाउने अंग्रेजी शब्दले कमेडीको काम गर्छ । सन्देशसहित आउने हाँसो नाटकको सबल पक्ष हो । पृष्ठभूमिमा बजेर बेलाबेलामा ‘फेड’ हुने संगीतले नाटकलाई बलियो बनाएको छ ।
नाटकमा केही कमजोरी पनि छन् । वेदना राईले निर्देशन गरेको नाटक नेपाली भाषामै छ । राई समुदायको बाहुल्य समाजको कथा भने पनि उनले नेपाली भाषामा नाटक तयार पारेकी छन् । लबज मात्र राईको छ । तर, कतिपय अवस्थामा संवाद बुझिँदैन ।
सबै गीत आफ्नै, नयाँ र मौलिक प्रयोग गर्न सकिने ठाउँ थियो । त्यसलाई नजरअन्दाज गरिएको छ । कतै प्रयोग भइसकेको गीतका ठाउँमा विषय सुहाउँदो आफैँ निर्माण गर्न सकिन्थ्यो । त्यसले नाटकलाई अझै बलियो र मौलिक बनाउँथ्यो ।
नाटक जति धेरै सरल र सहज त्यति राम्रो हुन्छ । नाटक निर्माण गर्दा निर्देशकले जति धेरै ‘डिटेल’मा ध्यान दिन्छन्, त्यति सबल हुन्छ । ‘डल्ले खोला’मा यसको केही अभाव देखिन्छ । केही कमजोरीका बाबजुद ‘डल्ले खोला’ नेपाली समाजको ऐना हो ।