
काठमाडौं । साहित्यकार तथा पत्रकार जयदेव गौतमले लेखेका समीक्षाहरू संग्रहीत पुस्तक ‘किताबको अँगालोमा’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई लगायतले कृति सार्वजनिक गरे ।
कृति सार्वजनिक गर्दै प्रा.डा. भट्टराईले कृतिकार गौतमले निर्भीकतापूर्वक समीक्षा लेखेको उल्लेख गरे । डा. भट्टराईले गौतमको साहित्यिक सक्रियताको प्रशंसा गर्दै पुस्तकमा शुद्ध नेपाली भाषा प्रयोग गरिएकोमा खुसी व्यक्त गरे ।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले लेखकको जाँगर यस कृतिले देखाएको बताइन् । उनले लेखकले पुस्तकमा अनुसन्धानमूखी समीक्षा गरेको उल्लेख गर्दै कृतिहरूको राम्रो चिरफार गरेको बताइन् ।
अर्का समीक्षक प्रमोद प्रधानले लेखक गौतमसँग आफ्नो सम्बन्ध विगत ४० वर्षदेखि रहँदै आएको बताउँदै उनले खुलेर तर खरो समीक्षा गरेको चर्चा गरे । लेखकका आफन्त विजय थापाले अमेरिकामा रहेका गौतमले पठाएको मन्तव्य वाचन गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले गौतम शारीरिक रूपमा बिरामी भए पनि लेखनका हिसाबले कहिल्यै बिरामी नभएको जिकिर गरे ।
पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो ।