
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया बालिकाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।
प्रहरीका अनुसार स्थानीय अक्षय सरदारकी छोरी शनिबार बिहान ३ बजेतिर बेपत्ता भएकी थिइन् । बालिका हराएको सूचना परिवार र आफन्तले बिहान ५ बजे प्रहरी चौकी कर्सियामा दिएका थिए ।
सोधपुछ र खोजतलासपछि बालिकाको शव घरदेखि करिब १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालयको छेउमा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
बालिकाको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीको भनाइ छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनालको टोली पुगेको छ ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरिएको तर पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोसी अस्पताल, विराटनगर पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।