
काठमाडौं । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा एक आत्मघाती आक्रमणमा देशका १३ सैनिकको मृत्यु भएको छ । उग्रवादीले मीर अलीमा सुरक्षा बलको समूहमाथि आत्मघाती आक्रमणको प्रयास गरेको पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)लाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
उग्रवादीले विस्फोटक पदार्थले भरिएको गाडीमार्फत निसाना बनाउने कोसिस गरेका थिए । उक्त सवारीसाधन सुरक्षा बलको गाडीसँग ठोक्किएपछि १३ सैनिकको मृत्यु भएको जनाइएको छ ।
घटनापछि सुरक्षाकर्मीले उग्रवादीलाई पछ्याएका थिए । त्यसपछि सैनिकसँगको भिडन्तमा १४ उग्रवादी मारिएका जनाइएको छ ।
खैबर पख्तुन्ख्वाकाका मुख्यमन्त्रीद्वारा जारी एक वक्तव्यमा सुरक्षाकर्मीका परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ । वक्तव्यमा सुरक्षा बलले देशमा शान्ति स्थापना गर्न र आतंकवादलाई समाप्त गर्न अभूतपूर्व बलिदान दिएको उल्लेख छ ।