
काठमाडौं । प्यालिस्टिनको गाजामा इजरायलको युद्ध र नाकाबन्दीपछि फैलिएको भोकमरीका कारण कम्तिमा ६६ बालबालिकाहरू कुपोषणले मृत्यु भएको प्यालेस्टाइनी क्षेत्रका अधिकारीहरूले बताएका छन् ।
उनीहरूले इजरायलको कडा नाकाबन्दीको निन्दा गर्दै नाकाबन्दीले दूध, पोषण पूरक र अन्य खाद्य सहायता प्रवेश गर्न रोकेकाका कारण यो अवस्था निम्तिएको बताएको अलजजिराले जनाएको छ । गाजाको सरकारी मिडिया कार्यालयको शनिबार प्रकाशित गरेको वक्तव्यमा इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाउँदा कम्तीमा ६० प्यालेस्टाइनीहरू मारिएको बताइएको छ ।
मिडिया कार्यालयले इजरायलको घातक नाकाबन्दीलाई युद्ध अपराध को संज्ञा दिएको र यसले नागरिकहरूलाई सफाया गर्न भोकलाई हतियारको रूपमा जानाजानी प्रयोग गरेको आरोप लगाएको छ । कार्यालयले गाजा क्षेत्रमा ‘बालबालिका विरुद्धको निरन्तर अपराध’ ‘भोक, रोग र विस्तारै मृत्युको शिकार’ बनेका बालबालिकाहरूको पीडाप्रति अन्तर्राष्ट्रिय मौनतालाई लज्जास्पद भन्दै निन्दा गरेको छ ।
यो वक्तव्य संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी एजेन्सी (युनिसेफ) ले गाजा क्षेत्रमा कुपोषित बालबालिकाहरूको संख्या चिन्ताजनक दरमा बढिरहेको चेतावनी दिएको केही दिनपछि आएको हो । यसले मे महिनामा मात्र ६ महिना देखि ५ वर्ष उमेरका कम्तिमा ५ हजार १ सय १९ बालबालिकाहरूलाई कडा प्रकारको कुपोषणको उपचारका लागि भर्ना गरिएको बताएको छ ।