
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।
बैठकका लागि ‘एजेन्डा’ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तय गरिसकेको छ । हिजो बसेको बैठकले केन्द्रीय समितिका लागि एजेन्डा तय गरेको थियो ।
बैठकमा गत असोजदेखि माघसम्मको सयदिने अभियानको प्रतिवेदन, महाधिवेशन गर्न नसकेका सात भातृ संस्थाका विषयमा छलफल हुनेछ । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ ।
बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आआफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने कार्यक्रम छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुनेछ ।
केन्द्रीय समितिको अर्को एजेन्डा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि चैत मसान्तमा सदस्ताको विवरण पठाइसक्न अन्तिम पटकका लागि गत माघमा नै परिपत्र गरेको थियो ।
तर, चैत मसान्तसम्म केही जिल्लाबाहेक कसैले नपठाएपछि वैशाख १५ गतेसम्मको म्याद थप गर्दै अर्को परिपत्र भएको थियो । तर, दोस्रो परिपत्रमा पनि कुनै प्रगति नभएपछि असार मसान्तसम्मको म्याद थपेर पुनः परिपत्र गरिएको छ ।
पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्मारिक प्रकाशन गर्ने तथा पार्टीको नीतिबारे सार्वजनिक बहस चलाउने बैठकको अर्को मुद्दा रहेको कांग्रेसले जनाएको छ ।