site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

काठमाडौं । दुई व्यावसायिक घरानाले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् ।  चितवन कोइ ग्रुप र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन गर्न लागेको हो । 

केबलकार पूर्वाधार बनाउन ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) हुनेगरी लगानी संरचना बनाइएको छ ।  केबलकार परियोजनाको पूर्वाधारका लागि अहिले जग्गा प्राप्तिको काम भइरहेको विकासकर्ता कम्पनी पुम्दिकोट महादेव केबलकारले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केबलकार परियोजनाहरूमा सामान्यतया आधारभूत भौतिक पूर्वाधारहरूमा माथिल्लो र तल्लो स्टेशनसहित लगानी समावेश हुन्छ । केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ । प्रतिकिलोमिटर लागत एक अर्ब ४५ करोड रुपैयाँ पर्ने देखिएको कम्पनीले जनाएको छ । 

विकासकर्ता कम्पनी पुम्दीकोटले आगामी वर्ष (जुलाई २०२६ को मध्य) सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

केबलकार परियोजना सम्पन्न गर्न लगभग १.५ वर्ष लाग्ने गरेको छ । परियोजना कार्यान्वयनमा कुनै पनि अप्रत्याशित ढिलाइ र सम्बन्धित लागत वृद्धिले निर्माणको समयमा बढ्दो ब्याज र उच्च मूल्यले कम्पनीको वित्तीय प्रोफाइललाई असर गर्न सक्नेछ । केबलकार सञ्चालनपछि ऋण तिर्न ११ वर्षसम्म लाग्ने गरेको छ । 

पुम्दिकोट महादेव केबलकार सन् २०२३ मा स्थापना भएको हो । केबलकार परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटलाई ध्यानमा राखेर विकास गरिँदैछ । पोखरा सहर र अन्नपूर्ण हिमश्रृखलाको रमणीय दृश्यसँगै पहाडको टुप्पोमा महादेवको मूर्ति स्थापना गरिएको छ । यसले तीर्थयात्रीहरू र अन्य पर्यटकहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्छ ।

केबलकार निर्माण समूहमा चितवन कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपको तर्फबाट अर्जुनप्रसाद शर्मा रहेका छन् ।  चितवन कोई ग्रुपले सन् १९९८ देखि मुलुककै पहिलो मनकामना केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीले एक अर्ब २८ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । 

पछिल्लो समय रिसोर्टसहित केबलकार परियोजना धमाधम बनिरहेका छन् ।  अहिलेसम्म मनकामना, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी र कालिञ्चोकमा केबलकार सञ्चालन भइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्