
काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछ ।
साताव्यापी सञ्चालन गरिने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा नबिल बैंकका विज्ञसहित जीआईजेड नेपाल, सिम्पल इनर्जी प्रालि, बीवाईडी, सीजी मोटर्सलगायत प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकार सहभागी हुनेछन् । उक्त कार्यक्रममार्फत सोलार रुफटप सोलुसन, विद्युतीय सवारीसाधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकार्कालाई जोड्ने उद्देश्य लिइएको छ ।
नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडीजी)लाई आत्मसात् गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अंगीकार गर्दै आएको छ । बैंकको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैंकको भनाइ छ ।
नबिल बैंकले आफूलाई बैंकिङमा मात्र सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानवअधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ । कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सिर्जनामा काम गर्दै आएको जनाएको छ ।
नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ । साथै, २१ जिल्लाका ३७ नदीमा सञ्चालनमा रहेका तीन हजार ७० मेगावाट क्षमताका ४३ जलविद्युत्् परियोजनामा बैंकले लगानी गरेको छ ।
यस्तै, साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ । गत आर्थिक वर्षसम्ममा बैंकले कृषि क्षेत्रमा मात्र ४५.३८ अर्ब, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
बैंकका अनुसार, विद्युतीय सवारी कर्जामा मात्र ४२.३६ प्रतिशत लगानी गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ । हाल बैंकका १३ शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ । डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रियता देखाउँदै हाल एनबैंकका प्रयोगकर्र्ता १६ लाख आठ हजार ८२६ पुगेको बैंकको भनाइ छ । बैंकले हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ ।
वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रीन विक, घर त नेपाल र दिगो पाइलाजस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलक्षित काम गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् । १३३ जनाले उद्यम स्थापना गरी एक हजार २०० जनालाई रोजगारी दिइसकेका छन् ।