
काठमाडौं । गायिका एलिना चौहानले प्रहरीको साइबर ब्युरोका निवेदन दिएकी छन् । आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्नेविरुद्ध एलिनाले सोमबार निवेदन दिएकी हुन् ।
उनले फेसबुकमा अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, ‘‘एलिनाको निवेदन दर्ता गरेर अनुसन्धान गर्दै छौँ ।’’
ब्युरो स्रोतका अनुसार, एलिनाले सोमबार दिएको निवेदनमा अमर्यादित कमेन्ट गर्ने चारजनाको नाम उल्लेख गरेकी छन् । उनीहरूले फेक एकाउन्टमार्फत कमेन्ट गरे वा वास्तविकमार्फत भन्ने विषयमा ब्युरोले अनुसन्धान थालेको छ ।
पछिल्लो समय गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेविरुद्ध आफैँले उनीहरूका तस्बिर र कमेन्ट समेत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।