site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य वर्षामै हुन्छ उपत्यकामा डुबान, चोभार गल्छीबाट ‘ढुंगा र गेग्रान’ हटाउने तयारी

काठमाडौं । बर्सेनि वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न बस्ती डुबानमा पर्छन् । जसका कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।

काठमाडौं उपत्यकाको भौगोलिक अवस्था, जनघनत्व, कृषियोग्य जमिन सकिएर जमिनको ‘रिचार्ज सिस्टम’ बन्द हुँदा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको विज्ञहरू बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यसपटकको मनसुनजन्य विपदबाट करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

किन उपत्यका डुबानमा पर्छ ?
प्राधिकरणका उपसचिव तथा प्रवक्ता रमेश सुनारले विभिन्न कारणले काठमाडौं उपत्यकामा सामान्य वर्षा हुँदा पनि डुबान हुने गरेको बताए ।

“खोला आसपासमा संरचना निर्माण गर्दा, नदीनालामा जम्मा भएका गेग्रानहरू समयमा नखोल्दा नदीखोला आसपासका बस्तीहरू डुबानमा पर्छन्,” उनले भने ।

उपत्यकामा वाग्मती, विष्णुमती, मनोहरा, नख्खु, बल्खु कर्मनासा, कोइकु, साङ्ले महादेव खोला, धोबीखोला, करखुसी खोला, टुकुचा, सामाखुसीलगायत नदी छन् । त्यस्तै, अन्य खहरे खोला र राजुकुलो पनि छन् । 

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख विष्णु जोशीका अनुसार, उपत्यकाको भौगोलिक अवस्थाका कारण बर्सेनि डुबानमा पर्ने गरेको छ । 

“पहिलो कारण त यहाँको भौगोलिक अवस्था हो । जनघनत्व पनि एकदमै धेरै भयो । यहाँको कृषियोग्य जमिन सबै नास हुँदा सबै रिचार्ज सिस्टम बन्द भयो । सबैतिर कंक्रिट नै कंक्रिट छ । आकासेपानी जमिनले सोस्न सकेन,” जोशी भन्छन् ।

उनका अनुसार, बर्खायामजस्तै पानी हिउँदमा पर्दा डुबान हुँदैन । “हिउँदमा जमिन सुक्खा भएको हुन्छ । त्यसबेला अहिलेजस्तै पानी पर्दा डुबान हुँदैन । जमिन रिजार्च गर्न सक्छ । तर, बर्खायाममा हुँदैन,” उनले भने । 

स्थानीय निकायसँग डुबान रोक्ने उपाय नभए पनि विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिएको जोशीले बताउँछन् । 

“उच्च जनघनत्व र कंक्रिटको जंगल बनेको छ, उपत्यका । वर्षायाममा डुबानको निकास दिने संयन्त्र छैन । सुरक्षा उद्धारका उपकरणहरूसँग हामी ‘स्ट्यान्डबाई’ छौँ,” उनले भने । 

खोलाको अतिक्रमण र उचित तवरबाट ढल व्यवस्थापन नहुँदा सामान्य वर्षामै पनि काठमाडौंका बस्ती डुबानमा पर्ने गरेका छन् ।

विपद्सँग जुध्न के छ तयारी ?
प्राधिकरणका प्रवक्ता सुनारले मनसुनजन्य विपद्‌मा उद्धार कार्यका लागि सरोकारवाला सबै निकायसँग समन्वय भइरहेको जानकारी दिए । 

“विभिन्न निकायसँग समन्वय गरेर पूर्वतयारी गरिएको छ । मौसम पूर्वानुमान शाखादेखि प्रहरी प्रशासनसम्मका निकायसँग समन्वय गरिरहेका छौँ । विपद व्यवस्थापनको विषयमा राष्ट्रिय कार्यविधि नै बनाएका छौँ । अब कार्यान्वयनको पाटो रहन्छ,” सुनारले भने ।

काठमाडौं उपत्यकाको पानी बाहिरिने मुख्य निकासका रूपमा चोभार गल्छी हो । गल्छीको विषयमा गत जेठ १४ गते बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले केही निर्णय गरेको थियो । त्यसपछि गल्छी काट्न लागिएको भन्दै चर्चा चुलिएको थियो । गल्छीबारे प्राधिकरणले आफ्नो स्पष्ट धारणा राख्दै पत्र नै जारी गरेको थियो । 

“अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकतानुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ,” पत्रमा भनिएको छ । 

अधिकारसम्पन्न वाग्मती सुन्दरता एकीकृत विकास समितिका अनुसार, गल्छीको करिब २० मिटरमाथि नदी सतहमा रहेका पाँच वटा ढुंगा र गेग्रान निकाल्ने तयारी पनि भइरहेको छ । समितिका आयोजना उपनिर्देशक तथा प्रवक्ता उद्धव नेपालले चोभारको गल्छी काट्ने कुनै तयारी नभएको बताए ।

“चोभारको गल्छी काट्ने कुनै तयारी होइन । पहिरोले गर्दा करिब २० मिटरमाथि नदीको सतहमा पाँचवटा ढुंगा छन् । आवश्यक परेको खण्डमा सो ढुंगासहित गेग्रान निकाल्ने भनिएको हो,” उनले भने । 

यसका लागि नेपाली सेनासँग समन्वय गरेर सहरी विकास मन्त्रालयले काम गर्नेछ । पानीको निकास सहज हुने र नदी किनारका क्षेत्रमा हुने डुबानको समस्या कम हुने अनुमान प्राधिकरणले गरेको छ ।

त्यस्तै, सरकारले डुबानको उच्च जोखिम रहेका स्थानको पहिचान गरी पानी जम्मा हुन नदिने उपाय अवलम्बन गर्ने सुनारले बताए ।

उद्धार हेलिकोप्टर प्रयोग गरिने ?
विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच समझदारी भएको छ । गृहमन्त्री रमेश लेखकको रोहबरमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्धारका लागि सम्झौता भएको हो ।

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्नुपरे निःशुल्करूपमा हेलिकोप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको छ ।

गृहमन्त्री लेखकले मनसुनको प्रारम्भिक चरणमा रहेको बताए । “हामी मनसुनको प्रारम्भिक चरणमा छौँ । मनसुनजन्य विपद्‌बाट ठूलो जनधनको क्षति भएको अवस्था छ । नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद् खोज, उद्दार तथा प्रतिकार्यमा सक्रिय छ,” लेखकले भने । 

समयमै उद्धार उडान गर्ने गराउनेबारे मन्त्रालय, प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघका प्रतिनिधि रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ ।

विपद्को उद्धार तथा राहतका लागि कुल चार अर्ब ६५ करोड रुपैयाँ बजेट रहेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्