
काठमाडौं । एन्फा यू–१६ युथ लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङदी क्लबले भगवती क्लब टोखाविरुद्ध २–१ को कठिन जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न उद्घाटन खेलमा मनाङले भगवतीविरुद्ध २–१ को जित निकालेको हो ।
मनाङको जितमा रोहन थापा मगर र विवके मगरले समान एक–एक गोल गरे । भगवतीका सरुन महतोले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३९औँ मिनेटमा रोहनले मनाङलाई अग्रता दिलाए । उनले १८–यार्ड बक्सभित्र सुन्दर प्रहार गर्दै बललाई पोस्टको दायाँ बारमा जाली चुमाए ।
खेलको ८५औँ मिनेटमा विकेकले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै अग्रतालाई दोब्बर बनाए । उनले पेनाल्टी प्रहारमा पोस्टको बाँया बारमा ‘बटम कर्नर’ गोल गरे । मनाङका साइओम श्रेष्ठको कर्नर पास भगवतीका सुयोग श्रेष्ठको हातमा लागेपछि टोलीले पेनाल्टी अवसर पाएको थियो ।
खेलको ५७औँ मिनेटमा भगवतीका सरुन महतोले फ्रिकिक प्रहारलाई गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काए ।
खेलको ५६औँ मिनेटमा मनाङका विवेक मगरले भगवतीका करन कार्कीलाई १८ यार्ड बक्सनजिकै लडाएपछि भगवतीले फ्रिकिक पाएको थियो ।
जितसँगै मनाङले लिगमा तीन अंक जोडेको छ ।