
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरूको वर्गीकरणको विषयमा छलफल भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आइतबार गभर्नर पौडेलले अब बैंकहरूलाई नयाँ ढंगले वर्गीकरण गरेर जाने कि भनेर छलफल भइरहेको बताए ।
“वर्गीकरणको विषयमा गम्भीर रूपमा राष्ट्र बैंकमा छलफल भइरहको छ । अहिले ‘क’ र ‘ख’ वर्गको फरक के त भन्दा एलसी खोल्न पाउने तथा बैंक ग्यारेन्टीहरू भनेर छुट्याइएको छ,” उनले भने, “पहिलाकोबाट अब नयाँ अप्रोजमा जाने कि भनेर गम्भीर रूपमा छलफल भइरहेकोे छ ।”
सबैले सबै काम गर्न पाउने भए फरक के भन्दै गभर्नर पौडेलले प्रश्न गरे । यसलाई हटाएर के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा नै ‘क’ वर्गको बैंक भनेर वाणिज्य बैंकलाई परिभाषित गरिएको छ । त्यसैगरी ‘ख’ वर्गको बैंक भनेर विकास बैंक, ‘ग’ वर्गको बैंक भनेर फाइनान्स कम्पनी र ‘घ’ वर्गको बैंक भनेर माइक्रोफाइनान्सलाई परिभाषित गरिएको छ । त्यस्तै पूर्वाधार बैंक भनेर एउटालाई राष्ट्र बैंकले लाइसेन्स दिएको छ ।
हाल वाणिज्य बैंकको संख्या २० छ भने विकास बैंकको संख्या १७ र फाइनान्स कम्पनीको संख्या १७ छ । त्यस्तै, माइक्रोफाइनान्सको संख्या ५२ र नेपाल पूर्वाधार विकास बैंक एउटा छ ।