site stats
बाह्रखरी :: Baahrakhari
खेल
नीति तथा कार्यक्रममा खेलकुद : क्रिकेटमा पुरानै योजना, खेलकुद विश्वविद्यालयले निरन्तरता पाएन

काठमाडौं । नेपाल सरकारले प्रस्तुत गरेको २०८०/८१ को नीति तथा कार्यक्रममा क्रिकेटमा पुरानै योजनालाई निरन्तरता दिइएको छ ।

शुक्रबार संघीय संसद् भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रमको घोषणा गर्दा क्रिकेटका पुरानै योजनाहरु प्राथमिकतामा परे । तर, अघिल्लो वर्ष ल्याइएको धेरै कार्यक्रमलाई यसपटक सरकारले बेवास्ता गरेको छ ।

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी आवश्यक प्रकृया अगाडि बढाइने जनाएको थियो । तर, यसपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले सार्वजनिक गरेको कार्यक्रममा विश्वविद्यालय निमार्णका लागि थप नीति तथा कार्यक्रमले स्थान नै पाएन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, यसअघि ओली नेतृत्वको सरकारले ल्याएको प्रत्येक प्रदेशमा कम्तिमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने, गैँडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्दै लगिने र उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिने जस्ता कार्यक्रमले यसपटकको नीति तथा कार्यक्रममा निरन्तरता पाएनन् ।

यसपटक नीति तथा कार्यक्रममा सरकारले एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हल निमार्ण गरिने योजना समेटेको छ । यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रोत्साहन एवं पुरस्कृत गरिने, हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने, वार्षिक क्यालेन्डर तयार पारेर अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने कार्यक्रम ल्याएको छ ।

सरकारले यसवर्ष ल्याएको र गत वर्षको नीति तथा कार्यक्रम यस प्रकारको छ :

वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरिएको खेलकुद

हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ । वार्षिक क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरुको आयोजना गरिनेछ । एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हल निमार्ण गरिनेछ । खेलकुदलाई राष्ट्रको पहिचान गौरव र प्रतिष्ठा बढाउने माध्यमको रुपमा विकास गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइनेछ । 

अन्तर्राष्ट्रिय स्तरको खेलकुद र प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ । खेलकुद पूर्वाधारहरुका लागि दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारहरुको सहभागिता बढाउँदै लगिनेछ । 

खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरु सार्वजनिक निजी साझेदारीमा निमार्ण गर्न प्रोत्साहन गरिनेछ । आगामी दुई वर्षभित्र काठमाडौंको कीर्तिपुर र मुलापानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिनेछ ।

चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथ चन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निमार्ण कार्य अघि बढाइनेछ ।

गत वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको खेलकुद

आधारभूत, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण एवं प्रतियोगिता आयोजना गरी खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिनेछ । खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइनेछ । 

मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता, बिमा, आकस्मिक सहयोगलगायतका प्रोत्साहनको व्यवस्था गरिनेछ । स्काउट तालिमलाई थप विस्तार गरिनेछ । साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति लिइनेछ । गैँडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिनेछ । सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्दै लगिनेछ । उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिनेछ । खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी आवश्यक प्रकृया अगाडि बढाइनेछ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरिनेछ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वय र सहजीकरण गरिनेछ । नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्