site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत भ्रमणमा के–के गरिन्छ ? प्रधानमन्त्री प्रचण्डले दिए जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ईपीजीको प्रतिवेदन र मिचिएको सिमानाका विषयमा भारत भ्रमणका बेला उपयुक्त तरिकाले छलफल गरिने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले योपटकको भारत भ्रमणमा संवादका माध्यमबाट समस्या समाधान गर्ने गरी अघि बढ्ने बताए ।

“भारत भ्रमणको क्रममा ईपीजी र सीमाको विषय उठ्छ कि उठ्दैन भनेर प्रश्न उठेको छ,” उनले भने, “यी विषयमा मेरो गम्भीर रूपले ध्यान छ । उपयुक्त तरिकाले छलफलमा जान्छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनाका विषयमा छलफल चलिरहेको भन्दै धेरै वर्षपश्चात् यसलाई अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वासमा आफू रहेको बताए ।

भारतले हिन्दु धर्म प्रचारका लागि नेपालमा लगानी गरेको विषय पनि सांसदहरूले प्रश्न उठाएका थिए । उक्त विषय अमेरिकी प्रतिवेदनमा उल्लेख थियो । प्रधानमन्त्री प्रचण्डले यो विषयमा अमेरिकालाई ‘नोट’ पठाइसकेको जानकारी दिए ।

“धर्मान्तरणबारे के भएको छ भनेर सोध्नुभएको छ,” उनले भने, “नेपाल सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षणसहित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकालाई नोट पठाइएको छ ।”

आफ्नो भारत भ्रमण क्रममा एयर रुट लिने बारेमा गम्भीर रूपले कुरा हुने उनले उल्लेख गरे । उनले यो भ्रमणपश्चात् नेपालले नयाँ एयर रुट पाउने प्रवल सम्भावना रहेको बताए ।

“यो विषय गम्भीर रूपले एजेन्डामा राखेर छलफल गरिएको छ । अहिले यति मात्र भन्छु,” उनले भने ।

उनले भारत भ्रमण क्रममा ‘ट्रेड ट्रान्जिट’का विषयमा सहमति हुने जानकारी पनि दिए । “२०१९ देखि रोकिएको काम योपटक अघि बढ्छ भन्ने मेरो विशवास छ,” उनले भने ।

उनले सार्कको बैठक बस्नेबारे पनि छलफल चलिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही जेठ १७ देखि २० गतेसम्म हुने तय छ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्