site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ ।

गत वर्ष असारमा अविरल वर्षापछि पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्यान्डका मार्टिन सिँगर र कुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन् । सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतलाई हस्तान्तरण गरे । स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुगेका थिए । विद्यालयको खेल मैदानसम्म पहिराेले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसबेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए । उनका अनुसार विद्यालयका पूर्वअंग्रेजी विषयका शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका हुन् ।  

प्रधानाध्यापक रावतले भने, “पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उहाँहरु विद्यार्थीका बारेमा चिन्तित हुनुभएको थियो । स्वीट्जरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हामीहरु विश्वस्त थियनौँ तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुसी भएका छौँ ।”

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने  प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।

स्वीस नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्