site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिनलाई सहयोग गर्न तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई  
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरण टुंगो पुर्‍याउन छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् । 

“ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले  दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ,” उनले ट्विटरमा भनेका छन्, “केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. भट्टराईले आफ्नो प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न पनि आग्रह गरेका छन् । 

“ललितानिवासलगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयउपर निष्पक्ष छानबिन गरेर कानुनविपरित, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए/गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानुनअनुसार कारबाही गरिनुपर्छ,” उनले भनेका छन्, “देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता छ ।”

सर्वोच्च अदालतले आइतबार ललितानिवास प्रकरणमा पूर्वप्रधानमनत्री डा. भट्टराई र माधवकुमार नेपालमाथि  छानबिन गर्न आदेश दिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्