site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उनले उल्लेख गरे । अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी गराइने बताए ।

“यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ,” उनले भने, “सरकारअन्तर्गत रहेका करारमा रहेका कर्मचारीलगायत सबैलाई पनि आवद्ध गर्नेतिर मेरो प्रतिवद्धता रहेको जानकारी गराउन चाहन्छु ।”

प्रधानमन्त्रीले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताए । उनले अनौपचारिक क्षेत्रको खास गरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताए ।

“सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र हो,” उनले भने, “श्रमिकको पेसा र श्रमको सम्मान स्थापित गर्ने सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाइ समग्र उत्पादकत्व अभिवृद्धि गराउनसक्ने क्षमता रहेको हुन्छ भने यसले त्यस्तो कोषमा श्रमिकका भरोसाका आधारहरु पनि गहिरो गरी लुकेका हुन्छन् ।”

सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनका लागि अगाडि बढीरहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्