site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ मा
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसपटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने सभामुख घिमिरेले बताए । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रुपमा दिन पनि उनले आग्रह गरे ।

“प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,” उनले भने, “साथै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रबार दिनको ३ बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

यस्तै, समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि सभामुख घिमिरेले जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्