site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्रमा काजसम्बन्धी नयाँ मापदण्ड : ६ महिनाभन्दा बढी बसेमा सबै अवसरबाट बञ्चित हुने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूको लागि काजसम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । 

मापदण्ड कार्यान्वयन गर्न देशभरका इकाईहरूलाई सोमबार परिपत्र गरेको छ । व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी काजसम्बन्धी नयाँ मापदण्ड तयार पारेको डीएसपी शैलेन्द्र थापाले बताए । 
 
वास्तविक समस्या भएकालाई अधिकतम ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने बताइएको छ । उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काज स्वीकृत भएका कर्मचारीहरूले ६ महिनाभन्दा बढी काज बस्नको लागि कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने हुन्छ ।कबुलियतनामा उल्लेख भए अनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना सुविधा उपयोग गरिसके पश्चात लागु हुने बताइएको छ । 

६ महिना काज सुविधापश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने हुन्छ । तोकिएको समय अवधिभित्र कार्यालयमा हाजिर हुन नगएमा कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपीयू मिसन, विदेश तालिम तथा अन्य निकायबाट संचालन हुने तालिम, कमाण्ड लगायतका सुविधाबाट बञ्चित हुनुपर्ने बताइएको छ । 

साथै थप काज बस्ने कर्मचारीहरूलाई वृत्तिविकासअन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्षिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको मूल्यांकन अंक कम मात्रामा दिइने विज्ञप्तिमा उल्लेख छ ।  

नयाँ मापदण्ड असोज २२ गतेदेखि लागु हुने गरी ६ महिना अवधि दिइने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्