site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेट रंगशालाको काम भरतपुर महानगर र वाग्मती प्रदेश सरकारले अघि बढाउने

चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।

अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो । 

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान  ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ । मैदानको आकार मात्रै बनेको भन्दै उनले दुबो लगाउने र पिचको काम गरिने जानकारी दिए । खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उनले बताए ।

यसअघि बनेका संरचनालाई संरक्षण गर्दै खेल खेल्न मिल्ने गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिए । आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत् काम अघि बढाइने बताए ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रदेश सरकारसँग सहमतिसँगै काम अघि बढ्ने बताइन् । 

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्दाको बाँकी भुक्तानी लगायतका विषयमा संघीय सरकारले निर्णय गर्ने उनले बताए । उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाभित्र रहेको महत्वपूर्ण आयोजना भएकाले यसलाई सहजरुपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताए । तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उनको भनाइ छ । 

भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले २० बिघा ६ कठ्ठा जग्गामा निर्माण थालेको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो । फाउन्डेसनले रंगशालाको स्वामित्व लिइदिन अनुरोध गर्दै भरतपुर महानगरलाई पत्र पठाए पनि हालसम्म निर्माणमा लागेको १८ करोड ४३ लाख ऋण कसले तिर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

रंगशाला निर्माणमा हालसम्म फाउन्डेसनले ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ । फाउन्डेसनले वक्यौता तिर्न बाँकी राखेर काम छाडेकाले यसलाई अघि बढाउन अप्ठ्यारो परेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्