site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्प प्रभावितले यसरी पाउनेछन् अस्थायी आवास निर्माण अनुदान 

काठमाडौं । सरकारले जाजरकोट–रुकुम भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न अनुदान दिने कार्यविधि तयार पारेको छ । 

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०४७ को दफा ६ बमोजिमको कार्यकारी समितिले ‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी अवासा निर्माण अनुदान कार्यविधि, २०८०’ स्वीकृत गरेको हो । 

कार्यविधिअनुसार कायम भएका अस्थायी आवासका लाभग्राहीलाई पहिलो किस्तामा २५ हजार रुपैयाँ उपलब्ध गरिनेछ । कार्यविधिमा भनिएको छ, “प्रक्रिया पूरा भएका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीलाई अन्तिम किस्तामा २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पहिचान तथा सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्वीकृत गरेका परिवारलाई अस्थायी आवास लाभग्राही कायम गरिनेछ । यस्ता भूकम्प पीडितले अस्थायी अवासको अनुदान प्राप्त गर्न निवेदन दिनुपर्नेछ ।

गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दू बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ३५ हजार ४५५ घरमा आंशिक र २६ हजार ५५७ घरमा पूर्ण क्षति गरेको छ । 

“भूकम्प गएका बखत एउटै आवासमा बसोवास गरिआएका जतिसुकै परिवार भए पनि ती सबैलाई एउटै परिवार मानी एउटा मात्र अस्थायी आवास लाभग्राही कायम गरिनेछ,” कार्यविधिमा भनिएको छ । 

अस्थायी आवासका लागि राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयन्त्र गठन गरिने व्यवस्था कार्यविधिमा राखिएको छ । यस्तो संयन्त्रको संयोजक प्रत्येक वडामा निर्वाचित जनप्रतिनिधि हुनेछन् ।

वडामार्फत प्राप्त निवेदनहरुमा भूकम्पअघि कायम रहेका आवास संख्यामा नबढ्ने गरी र निवेदनमा भएका त्रुटिका कारण अस्थायी आवास निर्माणमा विलम्ब हुन नदिन र लाभग्राही कायम गर्ने कार्यमा सहयोग, सहजीकरण र समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने कार्यविधिमा उल्लेख छ । 

प्रदेश सरकार, अन्य स्थानीय तहहरु र राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट अस्थायी आवास निर्माणका लागि सहयोग उपलब्ध गराउँदा तोकिएको परिवारलाई दोहोरो नपर्ने गरी गर्नुपर्नेछ । यस्तो सहयोगको लेखासहितको सम्पूर्ण विवरण सम्बन्धित स्थानीय तहमा बुझाउनु पर्नेछ ।

अनुदानवापत पहिलो किस्ताको रकम जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट सम्बन्धित स्थानीय तहमार्फत लाभग्राहीको बैंक खातामा उपलब्ध गराइने कार्यविधिमा जनाइएको छ । अस्थायी आवासको पहिलो किस्ता रकम लिएर निर्माण सुरु गरी छाना छाउनुअघि वा निर्माण पूरा गरी लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । 

“अस्थायी आवास अनुदान रकम लिएर आवास निर्माण सम्पन्न नगर्ने लाभग्राही र निजका परिवारलाई नेपाल सरकारबाट उपलब्ध गराइने पुननिर्माण तथा अन्य सहुलियत, सेवा सुविधाबाट बञ्चित गराइनेछ साथै अस्थाई अवास निर्माणवापत लिएको रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ,” कार्यविधिमा स्पष्ट भनिएको छ । 

अस्थायी आवास निर्माण गर्दा बाढी, पहिरो लगायत विपद्को जोखिमबाट समेत सुरक्षित हुने स्थानमा गर्नुपर्ने जनाइएको छ । अस्थायी आवास बनाउन सम्बन्धित स्थानीय तहलाई सहरी विकास मन्त्रालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्