site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराजभक्तले रविलाई ‘छाडिदिनुस्’ भनेका हुन् ? भन्छन्– सबैको हकमा लागु हुन्छ 

काठमाडौं । रास्वापाका सभापति तथा सांसद रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा सहकारीका बचतकर्ताको पैसा अवैध लगानी गरेको विवादमा तानिएका छन् । 

उनले पटक–पटक सहकारीमा आफू सदस्य नभएको र पैसा लिनका लागि सदस्य हुन जरुरी रहेको धारणा राख्दै आएका छन् ।

लामिछाने विवादमा तानिइरहेका बेला सोही दलका संसदीय दलका उपनेतासमेत रहेका विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विषयले भने तरंग सिर्जना भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नु हुन्न भने घाँडो पनि नबनी दिनु होला,” उपनेता श्रेष्ठले लेखेका छन्, “यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनु होला ।” 

श्रेष्ठले लेखेको यो विषयमा विभिन्न तरिकाले टिकाटिप्पणी भइरहेको छ । धेरैको अनुमान चाहिँ उनले सभापति लामिछानेलाई नै यो सन्देश दिएको भन्ने छ ।

श्रेष्ठको सन्देश के सभापति लामिछानेलाई नै पछि हट्न गरिएको आग्रह हो त ? बाह्रखरीको प्रश्नमा श्रेष्ठले आफूले सभापति लामिछानेलाई लक्षित गरेर त्यस्तो नलेखेको बताए । 

तर, आफूले भनेको कुरा सबैको हकमा लागु हुनुपर्ने उनको भनाई थियो । 

“म मेरो निर्वाचन क्षेत्रभित्रका काममा व्यस्त थिएँ । यहीँका विकास निर्माणका काममा देखिएका विकृतिलाई हेरेर मैले यो लेखेको थिएँ । तर, यसको व्यापक चर्चा भइसकेको रहेछ,” श्रेष्ठले बाह्रखरीसँग भने, “मैले व्यक्ति विशेषलाई भन्दा पनि प्रवृत्तिलाई लक्षित गरेर यो लेखेको हुँ, जुन सबैको हकमा लागु हुनुपर्छ ।” 

उनले सहकारी समस्या एउटा, दुईटा नभएर देशव्यापी देखिएको भन्दै यसलाई राष्ट्रिय अभियानकै रुपमा समाधान जरुरी भएको बताए ।  समस्या समाधानका क्रममा को पर्छ र कसलाई जोगाउने जस्ता कुरामा लागे त्यसले वित्तीय अराजकता ल्याउने उनको भनाई थियो । 

“सहकारी ठगीका विषय एक पछि अर्को गर्दै आइरहेका छन् । यसमा कुन व्यक्तिलाई फोकस गर्ने भन्दा पनि यो सम्पूर्ण ठगीको प्रक्रियामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ,” श्रेष्ठले भने, “उनीहरुलाई कानुनी दायरामा ल्याएर मात्र पुग्दैन ठगिएका पीडितहरुलाई पनि क्षतिपूर्ति र न्याय दिनसक्नुपर्छ ।”
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्