site stats
बाह्रखरी :: Baahrakhari
देश
अक्सिजन खरिदसहित तीन शीर्षकमा वीर अस्पतालले पायो साढे चार करोड 

काठमाडौं । वीर अस्पतालमा अक्सिजन आयात रोकिने अवस्था आएसँगै अर्थ मन्त्रालयले साढे चार करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अक्सिजन, अत्यावश्यक औषधि र बिरामीकोे खानालाई निरन्तरता दिन साढे चार  करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । 

“अहिलेलाई तीनवटा शीर्षकमा खर्च गर्न चार करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ,” निर्देशक पौडेलले भने, “अस्पतालको दैनिक आवश्यकीय सामग्री, ल्याबको रिएजेन्टलगायत सामग्रीको भने समस्या नै छ ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही दिनअघि मात्रै लिक्विड अक्सिजन आयातकर्ता शंकर अक्सिजन ग्यास प्रालिले झन्डै दुई करोड रुपैयाँ बक्यौता रहेको भन्दै वीरलाई ग्यास आपूर्ति रोक्ने चेतावनी दिएको थियो ।

त्यस्तै, वीरले बिरामीलाई खुवाउने खाना शीर्षकको एक करोड ६७ लाख रुपैयाँ बजेट पनि चालु आर्थिक वर्षदेखि कटौती गरिएको थियो । 

अस्पताल कर्मचारीको आग्रहमा हाल अक्सिजन आयात र खाना दुवै भने रोकिएको छैन । वीरमा दुईवटा लिक्विड र एक ड्राइसहित तीनवटा अक्सिजन प्लान्ट छन् । 

हाल ड्राइ अक्स्जिन प्लान्ट बिग्रिएपछि लिक्विड अक्सिजनको खपत थप बढेको थियो । लिक्विड अक्सिजन आयातमा मात्रै दैनिक एक लाखभन्दा बढी खर्च हुने अस्पतालका कर्मचारी बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्