site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् । 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, पार्टीव्यापीरूपमा ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राखेका थिए । 

त्यस्तै, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको जानकारी दिए । 

उनले भने, “खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ । कोही, मधेस हुँदै सात प्रदेशका समूहहरू छन् । एउटा समन्वय कमिटीहरू, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ । यो समूहमा प्रस्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र पर्सिको दिन केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।”

उनले  छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्