site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१० मिनेटमै विशेष सुरक्षा टोली घटनास्थलमा !

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान आज हुँदैछ ।  आज हुने मतदान प्रक्रियामा ढुक्कका साथ आफ्नो मताधिकार प्रयोग गर्न सरकारले आह्वान गरेको छ । 

गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै सुरक्षाको कुनै पनि कमी नहुने  गरी तयारी गरेको भन्दै निर्वाचनमा भाग लिने नागरिकलाई निर्धक्कका साथ सहभागी हुन आग्रह गरेको हो । 

गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै गृह सचिव मोहनकृष्ण सापकोटाले सुरक्षाको सम्पूर्ण बन्दोबस्त भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले पूर्ण सुरक्षाको प्रत्याभुति हुने गरी सुरक्षा व्यवस्था मिलाएको छ, गृहसचिव सापकोटाले भने, “केही आपत परिहाले १० मिनेटमा पुग्ने गरी हामीले विषेश टोली तैनाथ राखेका छौं ।”

उनका अनुसार आज हुने निर्वाचनको सुुरक्षामा ६८ हजार ६ सय ७८ जना नेपाल प्रहरी, ६४ हजार नेपाली सेना, ४२ हजार ४ सय ५१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७९ जना म्यादी गरी २ लाख ७३ हजार ३ सय ८ जना सुरक्षाकर्मी परिचालित भएका छन् । 

त्यसैगरी सुचना संकलनमा पनि सुरक्षा निकाएले आ–आफ्नो संगठन तथा राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको पत्रकार सम्मेलनमा सचिव सापकोटाले बताए । 

उनका अनुसार निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी रहनेछ । त्यसैगरी दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरा तथा मतपेटिका ढुवानी लगाएतमा नेपाली सेना परिचालन गरिनेछ ।

सेनाले निर्वाचनका दिनमा निवार्चन हुने जिल्लाहरुमा हवाई गस्तीसमेत गर्ने भएको छ ।  चुनावमा धाँधली र चुनाव विथोल्ने प्रयास गरिए सोहीअनुसारको बल प्रयोग गरिने भएको छ ।

आज ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । ७०२ जना उमेदवार चुनावी मैदानमा छन् भने २ हजार ९१९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र तोकिएको छ । ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  ०६:०२
प्रतिक्रिया दिनुहोस्