site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर पर्वतमा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मोदी–१, भुकताङ्लेमा एक महिला र वडा नम्बर–७, राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।

चट्याङ लागेर भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदीप केसीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, शनिबार साँझ ६.३० बजे आफ्नै घरको पिँढीमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका निम्ति पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी र वर्षा भइरहेका बेला तिमिल्सिना भैँसी दुहुन गोठमा जान पिँढीमा निस्कँदा चट्याङ लागेको थियो ।

यस्तै, चट्याङ लागेर घाइते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीको टोली दुवै घटनास्थलमा मुचुल्काका निम्ति पुगेको र थप विवरण पछि आउने उनले बताए ।

शनिबार साँझ परेको वर्षासँगैको असिनाले पनि मोदी गाउँपालिकामा ठूलो नोक्सानी पुर्‍याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नम्बर–२, देउपुरमा भर्खरै फल लाग्न थालेका सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाईंले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्