site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज दिनभर बदली र वर्षा, चक्रवातको असर हो ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा आज दिनभर बदली (आकाशमा बादल) र वर्षाको सम्भावना छ । काठमाडौंसहित कतिपय स्थानमा अहिले पनि पानी परिरहेको छ ।

गए राति समेत देशका धेरै स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित ‘रेमल’ चक्रवातको अप्रत्यक्ष प्रभावसहितका कारण कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका धेरै स्थानमा गए राति र आज बिहान वर्षा भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातका कारण वर्षा भएको उनले स्पष्ट पारे । “गए राति/बिहान धेरै स्थानमा वर्षा भयो । विशेष गरेर स्थानीय वायु र पूर्वी भेगमा रेमल चक्रवातको सामान्य प्रभाव छ,” उनले बाह्रखरीसित भने, “गए राति त्यसको प्रभाव काठमाडौंसहित गण्डकीसम्म देखियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव भने नपरेको उनले बताए । उक्त चक्रवातको प्रत्यक्ष प्रभाव बंगलादेश र भारतमा परेको उनले उल्लेख गरे । “ल्यान्डफल हुने ठाउँमा प्रत्यक्ष प्रभाव हुने हो । बंगलादेश र भारतमा ल्यान्डफल भएको हो,” उनले भने, “ल्यान्डफलमा धेरै वर्षा, चट्याङ, तीव्र हावाहुरी हुन्छ ।”

उनका अनुसार, त्यो ठूलो प्रणाली हो । त्यो प्रणाली फैलने भित्री घेरो क्षेत्रमा नेपाल पर्दैन । तर, त्यसको अप्रत्यक्ष प्रभाव यहाँ देखिएको छ ।

“त्यो ठूलो डायमिटर (व्यास)को छ । एक हजार किलोमिटरभन्दा बढीको छ,” उनले भने, “त्यसको बाहिरी घेरोको प्रभाव यहाँ देखिएको हो ।”

‘रेमल’को बाहिरी घेरोको प्रभावले नेपालमा बदली र वर्षा गराउन ‘सपोर्ट’ गरेको उनले बताए । “त्यसले (रेमल) बादल लेरायो । यहाँ स्थानीय वायुको प्रभाव छँदै छ,” मौसमविद् पुडासैनीले भने, “त्यसले वर्षा गराउन सपोर्ट गर्‍यो ।”

काठमाडौंमा आज दिउँसो र राति पनि वर्षाको सम्भावना रहेको उनले बताए । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । 

काठमाडौंमा कतैकतै कुनै बेला घाम पनि लाग्न सक्ने उनको भनाइ छ । “काठमाडौंमा कतै पनि घाम नै नलाग्ने भन्ने सम्भावना त रहँदैन, तर सबैतिर धेरै बेर घाम लाग्ने नहुन सक्छ,” उनले भने, “दिनभर धेरैजसो बदली, दिउँसो र राति पनि वर्षाको सम्भावना देखिन्छ ।”

काठमाडौंमा भोलि दिउँसो पनि वर्षाको सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्