site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा परेपछि निवेदकबाटै सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथिकाे सुनुवाइ स्थगित भएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइ दायर गरेको रिटमा बुधबार पेसी तोकिएको थियो । बुधबार (आज)को पेसी सूचीमा उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा चढेको थियो । त्यही कारण रिटमाथिको सुनुवाइ स्थगित गर्न निवेदकले नै निवेदन दिएका हुन् ।

न्यायाधीश सुनिलकुमार पाेखरेलले अधिवक्ताको अभ्यासका क्रममा रविविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै परेकाे रिटमा रविका तर्फबाट बहस गरेका थिए । उनको इजलासको अन्तिम नम्बरमा रहेको रविविरुद्धको रिट अन्तिममा ‘हेर्न नमिल्ने’मा पर्ने निश्चित भएका कारण रिटकर्ताले सुनुवाइ स्थगित गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“न्यायाधीश सुनिलकुमार पोखरेलले रविका तर्फबाट वकालत गरिसक्नुभएकाले रिटको सुनुवाइ स्थगितका लागि निवेदन दिएका हाैँ,” अधिवक्ता अनुपम भट्टराईको वारेस भइ आफ्नो हकमा समेत रिट दायर गरेका अतुल विष्टले बाह्रखरीसँग भने, “त्यसैले हामीले स्थगित गरेका हाैँ ।”

सहकारी ठगीमा नाम जोडिएर संसद्‌मा समेत प्रश्न उठेपछि आफूमाथिको अभियोगबाट उन्मुक्तिका लागि गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ता कार्यालयबाट ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर पत्र लिएका थिए । संविधान र कानुनअनुसार माग्न र दिन नमिल्ने पत्रविरुद्ध परेकाे रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । रिट दर्ता नै नहुने ‘दरपिठ’ आदेशपछि रिटकर्ताले इजलासमा निवेदन लगेका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ताको आदेश गरेको थियो । उक्त आदेशपछि यही जेठ १४ गते दर्ता भएको रिटमा आजको पेसी तोकिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्