site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक सरुवामा कुनै अधिकार नपाएपछि विद्यालय व्यवस्थापन समिति आक्रोशित
सोमबार संसदीय समिति पुगेको विद्यालय व्यवस्थापन महासंघको टोली ।

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ भर्खरै जारी भयो । निर्देशिकाले शिक्षक सरुवा प्रक्रियाको सम्पूर्ण अधिकार विद्यालय, स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई सुम्पिएको छ ।

सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरू भने निर्देशिकाले शिक्षक सरुवा प्रक्रियामा समितिलाई बाइपास गरेको भन्दै असन्तुष्ट छन् । सामुदायिक विद्यालय व्यवस्थापन समितिको असन्तुष्टि संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसम्म आइपुगेको छ । 

'ऐनविपरीत निर्देशिका आयो, व्यवस्थापन समितिलाई बाइपास गरियो'

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षक सरुवासम्बन्धी निर्देशिकामाथि आपत्ति जनाउँदै सामुदायिक विद्यालय व्यवस्थापन महासंघ सोमबार संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको थियो । समितिमा महासंघका अध्यक्ष गुणराज मोक्तानले निर्देशिकामा शिक्षक सरुवा गर्न व्यवस्थापन समितिको सहमति नचाहिने विषय आपत्तिजनक रहेको बताए ।

“सामुदायिक विद्यालयको एउता महत्त्वपूर्ण पिल्लरको रूपमा रहेको व्यवस्थापन समितिको भूमिका शिक्षक सरुवामा निष्क्रिय गरियो, यो चिन्ताजनक विषय हो,” मोक्तानको भनाइ छ ।

आवश्यकताका आधारमा कहाँ, कस्तो र कसरी शिक्षक ल्याउने भन्ने निर्णयमा व्यवस्थापन समितिले सहभागी हुन पाउनुपर्ने महासंघको जोड छ ।

शिक्षा ऐनभधन्दा बाहिर गएर शिक्षामन्त्रीले आफूअनुकूल निर्देशिका ल्याएको र तत्काल सच्याउनुपर्ने महासंघको माग छ । 

महासंघले विद्यालय व्यवस्थापन समितिलाई अधिकारविहीन नबनाएर केही गलत अभ्यास भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

शिक्षक व्यवस्थापन समितिबारे के भनेको छ निर्देशिकाले ?

शिक्षा मन्त्रालयबाट ०८१ जेठ १३ गते स्वीकृत निर्देशिकाले सामुदायिक विद्यालयका शिक्षक सरुवासम्बन्धी आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रस्तरीय सहजीकरण समितिको व्यवस्था गरेको छ ।

पालिकास्तरमा भने विद्यालयहरूले पद रिक्त भए सात दिनभित्र केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ । 

विद्यालयमा विषयगत प्राथमिकता भए नभएको यकिन गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको छ । रिक्त पदमा शिक्षक सरुवा गरी ल्याउन स्थानीय तहले नै सूचना आह्वान गर्ने उल्लेख छ ।

सरुवा हुन चाहने शिक्षकको हकमा पनि कार्यरत विद्यालयको सहमतिपत्र सरुवा हुन चाहेको विद्यालयमा बुझाउनुपर्ने उल्लेख छ । यस प्रक्रियामा व्यवस्थापन समितिको कुनै सहमति वा सिफारिस आवश्यक पर्ने छैन ।

यस्तै, सरुवाका लागि समावेश गर्नुपर्ने कागजात तथा अभिलेख पनि सम्बन्धित विद्यालयका प्रधानाध्यापकले प्रमाणित गर्ने व्यवस्था छ । 

सेवा अवधि, शैक्षिक योग्यता, ग्रेडलगायतका मापदण्डका आधारमा सरुवा स्वीकृत हुने व्यवस्था गरिएको छ ।

निर्देशिकामा प्राथमिकताक्रम सूची तयार पार्ने जिम्मा पनि प्रधानाध्यापकलाई नै दिइएको छ । सरुवाको अन्तिम अधिकार विद्यालय र स्थानीय तहमा निहित छ ।

सरुवा गर्ने र सुरुवा भएर आउने दुवै विद्यालय एउटै स्थानीय तहमा भए तह र विषय यकिन गरेर शिक्षक व्यवस्थापन कार्य स्थनीय तहले नै गर्ने व्यवस्था छ ।

फरक स्थानीय तहको भए जिल्लास्तरीय शिक्षा विकास तथा समन्वय इकाइले गर्ने व्यवस्था छ । यस अवस्थामा सहमति भने स्थानीय तहले दिनुपर्नेछ । 

ऐन मिचिएको हो त ?

शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ ले पनि सामुदायिक विद्यालयका शिक्षकको सरुवा सम्बन्धमा व्यवस्थापन समितिको निर्णयक भूमिका तोकेको छैन । 

शिक्षा ऐन, २०२८ ले शिक्षक सरुवाको जिम्मा जिल्ला शिक्षा कार्यालयलाई दिएको थियो । जिल्ला शिक्षा समितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूमध्येबाट एकजना सदस्य भने रहने व्यवस्था ऐनमा छ । ऐनमा तोकिएको जिल्ला शिक्षा समितिको जिम्मेवारी संघीय व्यवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले पाएको छ । 

यस समितिलाई कक्षा ५ सम्म विभिन्न आधार छुट्याएर न्यूनतम कक्षागत दरबन्दी कायम गर्ने र ६ कक्षाभन्दा माथि ८ कक्षासम्म उपलब्ध सरकारी दरबन्दी वितरण र मिलान गर्ने अधिकार दिइएको छ ।

ऐनको विद्यालय व्यवस्थापन समिति सम्बन्धी काम कर्तव्य र अधिकारको महलमा जिल्ला शिक्षा कार्यालयबाट खटिएको शिक्षकलाई काममा लगाउने र आफैँले नियुक्त वा बढुवा गरेको शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ ।

तर, शिक्षक सरुवाको अधिकार जिल्ला शिक्षा अधिकारीमा हुने व्यवस्था ऐनमा छ । अधिकारीबाट क्षेत्रीय शिक्षा निर्देशक, त्यहाँबाट शिक्षा विभाग हुँदै सिधै मन्त्रालयमा आइपुग्ने ऐनको व्यवस्था छ । 

के भन्छ मन्त्रालय ?

नयाँ विद्यालय शिक्षा ऐन बनाउन यतिखेर संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफाबार छलफल जारी छ । नयाँ ऐन नबन्दासम्म शिक्षक सरुवा सहज गराउन निर्देशिका जारी गरिएको शिक्षामन्त्री सुमना श्रेष्ठको भनाइ छ ।

शिक्षक सरुवामा चरम राजनिति हुने गरेकाले पनि निर्देशिकाको व्यवस्था स्वागतयोग्य रहेको विज्ञहरू बताउँछन् । विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी फरक भएकाले शिक्षक सरुवामा हस्तक्षेप गर्न नहुने मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

"नयाँ काम गर्न खोज्दा विरोध त आउँछ नै । तर, सामुदायिक विद्यालयमा रहेको बर्सौंदेखिको बेथिति हटाउन केही अल्पकालीन तथा केही दीर्घकालीन योजना ल्याउनुपर्छ । निर्देशिकामाथि व्यवस्थापन समितिले रुवाबासी गर्नुपर्ने कारण म त देखिदनँ,” ती अधिकारी भन्छन् । 

यता पूर्व शिक्षामन्त्री तथा सांसदहरूले भर्ने विवादास्पद काममा समय बर्बाद नगर्न र विद्यालय शिक्षा ऐनलाई पूर्णता दिने काममा लाग्न शिक्षामन्त्री श्रेष्ठलाई सुझाव दिँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्