site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ताका लागि लम्पसार पर्नेहरूले मलाई भारतीय दलाल देखे : बाबुराम भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् । 

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रवद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर, कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिगरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, "भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन् । प्रवुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौँ भन्ने त मैले नै सुरु गरेको हो । र, अहिले त्यो हरायो । उल्टो मलाई नै भारतीय दलाल भयो भन्छन् । जसले प्रवुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरौँ र खुला सिमाना असमान सन्धि, सम्झौता अंग्रेजका पालादेखि भए । त्यसलाई समयानुकूल बनाऔँ भन्ने चाहीँ दलाल । जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, तर, दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी भएपछि यो देश बन्छ ?" 

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्ताव समेत गरे ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्