site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमलताल दुर्घटना : भारतीय टोली आउँदा पनि खोजीमा देखिएन प्रगति

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।

आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल र भारतको संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ । तर, अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ संकेत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाँच दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्तरूपमा खोजी गरिरहेको छ । 

थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ ।  गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए । 

बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अहिलेसम्म २५ जना मृत अवस्थामा भेटिएका छन् । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । रासस

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २३:१६
प्रतिक्रिया दिनुहोस्