site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङ र मुस्ताङमा किन सबैभन्दा कम पानी पर्छ ?
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ । समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ । तस्बिर : रामबहादुर थापा/रासस ।

काठमाडौं । नेपालमा सामान्यतया सबैभन्दा कम पानी मनाङमा परेको तथ्यांक छ । ७७ वर्षको इतिहासमा सबैभन्दा कम पानी मनाङमा परेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा उल्लेख छ । 

विभागको तथ्यांकअनुसार सन् २०२२ अक्टोबर ७ मा मनाङको हुम्डेमा ६४.७ मिलिमिटर वर्षा भएको थियो । यो नेपालको सबैभन्दा कम पानी पर्ने स्थान हो ।

दोस्रो सबैभन्दा कम पानी परेको स्थानमा मुस्ताङको थाकमार्फा छ । थाकमार्फामा १९९७ डिसेम्बर १० मा ८६.६ मिलिमिटर वर्षा भएको तथ्यांक छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनसुनी वायु जताबाट आउँछ, त्यसलाई फेस गर्ने डाँडामा कम पानी पर्ने मौसमविद्हरूको भनाइ छ । उत्तर र पश्चिमतर्फ फर्किएका डाँडामा कम पानी पर्छ । सानो डाँडा भए पनि त्यो डाँडाको उत्तर र पश्चिमतर्फ कम पानी पर्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

“मनसुनको फ्लो जताबाट आइरहेको हुन्छ, त्यो आएको बाटोमा ठोकिने ठाउँ छ भने त्यहाँ बढी पानीपर्छ,” मौसमविद् अर्याल बाह्रखरीसँग भन्छन्, “पानी पर्दै जाने क्रममा बीचमै डाँडामा ठोक्किएपछि त्यहीँ वर्षा हुने भएकाले डाँडो कटेर जाँदासम्म बादलमा पानीको मात्रा कम भइसकेको हुन्छ । त्यसैले डाँडा पारितिर कम पानी पर्छ ।”   

मनाङ र मुस्ताङमा पनि कम पानी पर्नुको कारण यही भएको उनको तर्क छ । पोखरामै धेरै पानी पर्ने भएकाले मनाङ र मुस्ताङसम्म पुग्दा कम हुने अर्याल बताउँछन् । 

“पोखराको लुम्लेमा धेरै पानी पर्छ । अघिल्लो फेसमा पानी पर्दै जाँदा पछिल्लो फेस मनाङ र मुस्ताङमा कम पानी पर्छ,” उनी स्पष्ट पार्छन्, “जताबाट मनसुनी हावा बगेर जान्छ र ठोकिन्छ, त्यहाँ कम पानी पर्छ । तर, जुन डाँडामा मनसुनी हावा ठोकिएर पानी पर्छ, त्यहीँ पानी सकिन्छ । मनाङ र मुस्ताङमा कम पानी पर्नुको कारण यही हो ।” 

मनसुनी हावा ठोकिएको डाँडावारि नै उक्त हावामा रहेको पानी सप्लाई गर्ने इनर्जी सकिने हुँदा त्यसदेखि पारि पानी नपर्ने अथवा कम पर्ने उनको भनाइ छ । 

कालो बादल सकिएपछि त्यसभन्दा माथि रहेको सेतो बादलले अलिअलि मात्रै वर्षा गराउने अथवा पानी नै नपर्ने पनि हुने मौसमविद् अर्याल बताउँछन् । 

“हामी सामान्यतया आँखाले हेरेर त्यहाँसम्म पानी पर्‍यो, तर त्यहाँबाट यता आएन भन्छौँ यसको कारण कालो बादल सकिएर हो,” उनी भन्छन्, “कालो बादल सकिएपछि बाँकी रहेको सेतो बादलबाट पानी पर्दैन अथवा कम पर्छ ।”

तेस्रो कम पानी परेको स्थानको सूचीमा जुम्ला छ । सन् २०१३ अगस्ट १ मा जुम्ला विमानस्थलमा ८८.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ ।

थोरै वर्षा भएको सूचीको चौथो स्थानमा मुस्ताङकै जोमसोम छ । सन् १९७४ नोभेम्बर २९ मा जोमसोममा ८८.८ मिलिमिटर वर्षा भएको थियो ।

सबैभन्दा कम पानी परेको सूचीको पाँचौँ स्थानमा मुगु, छैटौँ स्थानमा डोल्पा, सातौँमा हुम्ला, आठौँमा अछाम, नवौँमा बझाङ र दशौँमा ललितपुरको खुमलटार छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्