site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद् : मृतकको संख्या १९३ पुग्यो, २४१ जना घाइते भएका

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‌्‌मा परेर आजसम्म १९३ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, वाग्मती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २४१ जना घाइते भएका छन् ।

बाढी, पहिरोका कारण काठमाडौं उपत्यकामा २८, कोसी प्रदेशमा ४९, वाग्मती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ११४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

बाढी पहिरोमा परी कोसी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् । 

बाढीको कारण आज दिउँसोसम्म जम्मा ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

विपद्‌मा परी ८७० वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ८४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्