site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पूर्ण बहादुरको सारङ्गी’को टिजर : छोरालाई पढाउन बुवाले गरेको संघर्ष

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । कात्तिक १५ (लक्ष्मीपूजा)का दिन प्रदर्शन हुने चलचित्रको टिजर बुवाहरूप्रति समर्पित गर्दै बुवाको मुख हेर्ने दिनको अघिल्लो साँझ सार्वजनिक गरिएको हो ।  

सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत छन् । गरिबीका कारण अभिभावकले झेल्नु परेको आर्थिक अभाव, छोराले पाएको शैक्षिक सफलता र छोरालाई पढ्न सहर पठाउँदाको विछोडको पीडा टिजरमा समेटिएको छ ।

छोरो (प्रकाश) एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै टिजर सुरु हुन्छ । विजय (बुवा) आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याएको, अरुको घरघरमा पुगेर सारङ्गी बजाएर गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर छोरालाई सुनाएको सम्झिन्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशले सहरबाट पढेर फर्किएपछि बुवाले छोडेर गएको सारङ्गी जतनले पोकोबाट खोल्दै गर्दा बुवाले काँधमा बोकेर हिँड्ने गरेको सम्झिन्छन् । सँगै उनकी सानी छोरी पनि हुन्छिन् । अरुको अगाडि शीर झुकाउनु नपर्नेगरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै बिट मार्ने टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धीलाई एकसाथ समेटेको छ ।

‘पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तानप्रतिको सपना पूरा गर्न गर्ने संघर्षको कथा भएको टिजरले संकेत गरेको छ । 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

सोसल–ड्रामा जानरामा निर्माण भएको सिनेमाले गन्धर्व परिवारको कथा भन्नेछ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्माका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्