site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिन्दुराष्ट्रको मुद्दासँगै जब कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला भयो... 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी विषयमा होहल्ला भएको छ । पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र हिन्दु राष्ट्र नेपाल अभियानका संयोजक शंकर भण्डारीले उक्त मुद्दा उठाएपछि बैठकमा होहल्ला भएको हो ।

आइतबार कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री गगन थापालाई रोकेर भण्डारीले बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेको हिन्दुधर्मको एजेन्डालाई माइन्युटमा राख्न माग गरेका थिए । “महासमितिको बैठकमा हामीले हस्ताक्षरसहित बुझाएका छौँ, त्यसलाई केन्द्रीय समितिको माइन्युटमा कहीँ न कहीँ सम्बोधन गरिनुपर्छ,” भण्डारीले भनेका थिए, “महासमितिका १२ सय बढी सदस्यको हस्ताक्षर भएको विचारलाई तपाईं माइनस गरेर जान पाउनुहुन्छ ?”

उनले त्यसो भन्दै गर्दा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले शैलीगत प्रश्न गरेका थिए । घिमिरे बोल्दै गर्दा हिन्दु मुद्दाका पक्षधर कँडेल पनि बोल्न थाले । त्यसपछि घिमिरेले केन्द्रीय समितिमा गुन्डाशैली नचल्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केन्द्रीय समितिमा बोल्ने तरिका यही हो ? यहाँ गुन्डागर्दी शैली देखाउने ?,” प्रश्न गर्दै घिमिरेले भनेका थिए, “यो बीपी कोइरालाले बनाएको पार्टी हो । त्यो समयमा पनि बीपीले कहिल्यै धर्मको विषय राजनीतिमा ल्याउनुभएको छैन । किसुनजी, गणेशमानजी र महेन्द्रनारायण निधिजी त धार्मिक हुनुहुन्थ्यो, उहाँहरूले पनि राजनीतिमा धर्म ल्याउने प्रयास कहिल्यै गर्नु भएन ।”

घिमिरेले बोल्दै गर्दा बैठकमा होहल्ला भयो । त्यसपछि विमलेन्द्र निधि उठेर बोल्न थालेका थिए । उनले महासमितिको बैठकबाहिर कसैले टेन्ट टाँगेर गरेको हस्ताक्षरको विषय पार्टीको आधिकारिक छलफलजसरी सम्बोधन हुन नसक्ने बताए ।

त्यसपछि केन्द्रीय सदस्य भण्डारीले ‘तपाईं चुप लाग्नुस् ! तपाईंलाई कसले यस विषयमा बोल्ने अधिकार दियो ?’ भन्दै धम्कीको भाषा प्रयोग गरे । त्यसपछि निधि पनि उग्र भए ।

“तपाईं चुप लाग्नुस् ! चुप लाग्नुस् भनेको सुन्नुभएको छ कि छैन ?,” निधिले भनेका थिए, “यो होहल्ला गर्ने ठाउँ होइन । मैले के भन्दै छु, चित्त नबुझे प्रतिवाद गर्नुहोला ।”

त्यसपछि हिन्दु मुद्दालाई कमजोर नआँक्न भन्दै केन्द्रीय सदस्य सीता देवकोटा पनि ठूलठूलो स्वरमा कराएकी थिइन् ।

बैठक केही बेर कोलाहलपूर्ण भएपछि सभापति शेरबहादुर देउवाले ‘ल, दुवै पक्षलाई धन्यवाद’ भनेका थिए ।

महामन्त्री थापाले त्यसपछि बैठकका निर्णयहरू लगातार प्रस्तुत गरे । अनि, बैठक सकिएको घोषणासहित सभापति देउवा बाहिरिएका थिए । “सभापति बाहिरिएपछि बैठकमा झगडा गरेर बस्ने कुरा भएन, त्यसैले हामी सबै बाहिरियौँ,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्