site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगर सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत सहभागीबाट अनलाइन सेवाको अपेक्षा

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ उत्तरदातामध्ये ३३९ जना (६६ प्रतिशत) ले अनलाइन सेवाको अपेक्षासहित आफ्नो धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए ।

४७ प्रतिशतले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशतले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको उल्लेख छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो । गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा सहभागी ५१७ मध्ये १३४ जना अर्थात् २६ प्रतिशत महिला र ३८३ जना पुरुष थिए ।

यसैगरी १०६ जना अर्थात् २१ प्रतिशत काठमाडौं महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका व्यक्तिहरू थिए । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत थिए । शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता भएका १८६ जना (३६ प्रतिशत) सहभागी भएका थिए ।

सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत)ले मात्र काठमाडौं महानगरपालिकाको वेबसाइट प्रायः हेर्ने कुरा बताए । २६ प्रतिशतले अहिलेसम्म नहेरेको बताए ।

सर्वेक्षणले देखाएको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, "सर्वेक्षणले देखाएको सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीबाट व्यक्त विचारहरूका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा कार्यक्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।"

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्